बाराको सिम्रौनगढमा प्राचिन मूर्ति भेटिएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर १ ननसगरा ढाठमा पोखरी सरसफाइ र डिल निर्माण गर्ने क्रममा कालो पत्थरको बहुमुल्य मूर्ति फेला परेको हो ।
ननसगरा ढाट भन्ने पुरानो पोखरीमा आइतबार राति ११ः३० बजे मूर्ति फेला पारिएको सिम्रौनगढ नगरपालिका वडा नं. २ का अध्यक्ष दिनदयाल मुखियाले जानकारी दिनुभयो । सो मूर्ति हेर्न अहिलो पोखरी क्षेत्रमा स्थानीयको भिड लागेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढले मूर्ति फेला परेको सूचना प्राप्त हुनसाथ मूर्तिको सुरक्षा प्रदान गरिरहेको प्रहरी निरीक्षक जितेन्द्र साहले बताउनुभयो । उक्त मूर्ति हाल स्थानीय त्रीलोकीनाथ माहादेव मन्दिरामा राखिने वडा अध्यक्ष मुखियाले बताउनुभयो ।
फेला परेको सो मूर्ति कुन देवताको भन्ने स्पष्ट हुन सकेको छैन । तर स्थानीयका अनुसार ब्रह्मादेव वा विश्वकर्मा भगवानको हुनसक्ने अनुमान छ । पाँच फिट लम्बाई र तीन फिट चौडाईको सो मूर्तिको केही भाग फुटेको छ । यस्तै दुई दशकअघि सोही गाँउमा शंकर भगवानको लिंङ फेला परेको थियो । त्यहाँ एउटा मन्दीर पनि छ ।
यो ऐतिहासिक पर्यटकी एव धार्मिक स्थल सिम्रौनगढमा एक महिनाअघि सिम्रौनगढ ७ टोलको कन्काली पोखरीको डिलबाट कासिदाकारी युक्त कालो पत्थरको प्लेट र सिम्रौनगढ ४ टोल हरिहरपुरमा वर्थिङ्ग सेन्टरको जग खन्ने क्रममा दक्षिण कार्नाटक मन्दिरको गुम्बज ढाँचाको तीन वटा मूर्ति भेटिएको थियो ।