निजगढ नगरपालिकाको नगर सभाको बाह्रौं अधिवेशनको प्रथम बैठक निजगढ नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष श्री सुरथ पुरीको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा हिजो सम्पन्न भएको छ ।
बैठकमा निजगढ नगरपालिकाकी उपप्रमुख तथा नगर सभाकी उपाध्यक्ष सोममाया थिङ्गले निजगढ नगरपालिकाको आगामी आ.ब. २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट, निजगढ नगरपालिकाको विनियोजन विधेयक, २०८० र निजगढ नगरपालिकाको आर्थिक विधेयक, २०८० छलफलका लागि पेश गर्नुभएको थियो । उपप्रमुख थिङ्गले निजगढको विकासको लागि स्वास्थ्य, शिक्षा, कृषि, शिक्षा, खानेपानी, सिँचाइ र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर ८० करोड १५ लाख ८६ हजारको बजेट ल्याउन लागिएको जानकारी दिनुभयो ।
अघिल्लो चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट झण्डै १५ करोड रुपैयाले घटी हो । देशव्यापी आर्थिक मन्दीका कारण सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत परिचालनसमेत कमजोर बनेपछि सङ्घ र प्रदेश सरकारको जस्तै धेरै जसो निजगढ नगरपालिकाकोे बजेटको आकार घट्ेको हो ।
स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार सबै ७ सय ५३ वटै पालिकाले असार १० गते भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो गाउँ÷नगर सभामा पेस गर्नुपर्छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, नगर सभाका सदस्यहरु, नगर कार्यपालिकाको कार्यालय, निजगढमा कार्यरत कर्मचारीहरु, संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।