मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका – ३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ ।
अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । “अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ”, स्थानीय श्यामबहादुर राईले भने ।
लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जङ्गलमा अजिङ्गर देखापरेको हो । केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए ।
“अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ”, पौडेलले भने ।