काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा सहभागी हुन शीर्ष नेताहरु सिंहदरबार पुग्दैछन् । सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक राखेका हुन् ।
सोही बैठकमा सहभागी हुन पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् ।
सभामुखको कार्यकक्षमा हुन संयुक्त बैठकमा सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न लागेका हुन् ।
गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाएका हुन् ।