बीमा कम्पनीले केरा बालीको बीमा गर्न इन्कार गरेपछि आन्दोलित बनेका निजगढका केरा खेती गर्ने किसानहरु पर्सीबाट सडक आन्दोलनमा उत्रिने भएका छन ।
बीमा कार्य सुरु नगरिए आन्दोलनमा उत्रिने भनेर जिल्ला प्रशासन कार्यालय बारामा ज्ञपनपत्र बुझाएको हिजो ४ दिन बितिसक्दा पनि किसानको मागमा सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बारा जिल्ला केरा तथा फलफूल उत्पादन संघका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले हिजो संघको बैठकले साउन ५ गतेदेखि सुरु हुने आन्दोलनको तयारी गरेको पनि जानकारी पनि दिनुभयो ।
श्रेष्ठका अनुसार साउन ५ गते केरा किसानको समस्या बारेमा पत्रकार सम्मेलन गरिने र ७ गते किसानहरुको वृहद भेला आयोजना गर्न लागिएको बताउनुभयो । त्यसपछि पनि माग पुरा नभए साउन ७ गते बारा जिल्लामा बाली बीमाको जिम्मा पाएको हिमालयन एभरेष्ट बीमा कम्पनीको सिमरास्थित कार्यालयमा तालाबन्दी गरिने जानकारी दिनुभयो । संघले गत आइतवार जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई भेटेर ज्ञापनपत्र बुझाएको थियो ।
किसानहरुले कृषि तथा पशुपंक्षी मन्त्रालय, बीमा प्राधिकरण, हिमालयन एभरेष्ट बीमा कम्पनी र मन्त्रालय, बीमा प्राधिकरण र बीमा कम्पनीमा पनि ज्ञापनपत्र बुझाएका छन । बिमा कम्पनीका कर्मचारीहरुले ‘माथिको आदेश’ भन्दै किसानको केरा खेतीको बीमा नगरी फर्काएपछि निजगढका किसानहरु आन्दोलित बनेका हुन ।