बाराको निजगढ नगरपालिका शहिदचोक ८मा नालाले बगाएर हिजो साँझ एक बालकको मृत्यु भएको छ । सर्लाही जिल्ला मलगंवा नगरपालिका वडा नम्बर २ घर भइ हाल निजगढ नगरपालिका वडा नम्बर ८ को सहिद चोकको सुन पसल संचालन गर्दै आएका रुपेस साहको छोराको मृत्यु भएको हो ।
११ महिनाको छोरा ऋषि साहको पूर्वश्चिम राजमार्गको उत्तरपट्टीको नालाको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
घरअगाडि पसल छेउको आँगनमा खेल्दै गरेका ऋषि साँझ ७ बजे अचानक नालामा खसेका थिए । केहि समय पछि खोज गर्ने क्रममा करिव ३ सय मिटर पश्चिम प्रभु बैंक अगाडीको नालामा करिब १ घण्टापछि फेला पारिएको थियो । अचेत अवस्थामा फेला परेका बालक उपचारको लागि सामुदायिक अस्पताल प्रसुति गृह पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
जनपथ प्रहरी, सशस्त्र र स्थानीयको सहयोगमा बालकको शव खोजी गरिएको हो । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण हिजो निजगढका नालाहरुमा पानीको प्रवाह उच्च बनेको थियो । नालाको सहि व्यवस्थापन नगरपालिका लगायत सरोकारवालाले नगर्दा सो दुर्घटना घटेको सथानियहरुको भनाई छ । निजगढ नगरपालिका वडा नं ७,८ र ९ मा नालाको सहि व्यवस्थापन हुन सकेको छैन । नाला बने पनि नाला माथि राखिने स्ल्याप केहि स्थानमा मात्रै राख्दाले यस्ता दुर्घाटना थप हुन सक्ने स्थानियहरुको भनाई छ ।
वर्षाको भेल पानी पसेर निजगढका दर्जनौं घर डुवानमा परेका छन ।