निजगढ नगरपालिका वडा नम्बर– ८ खयरघारीकी मृगौला पीडित अन्जनी कुशवारको उपचारका लागि निजगढमा आर्थिक संकलन गर्ने क्रम जारी रहेको छ ।
अन्जनीको उपचारको लागि हिजो साविक निजगढ गाविस वडा नम्बर १ का पूर्व वडा अध्यक्ष एवंम समाजसेवी घनश्याम लम्साल र निजगढ नगरपाकिला वडा नम्बर ९ की वडा सदस्य बबिता श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको हो । रेडियो निजगढको कार्यालयमा एक कार्यक्रमबीच समाजसेवी लम्सालले ३ हजार वडा सदस्य श्रेष्ठले १ हजार ५० रुपैया नगद सहयोग गर्नुभएको थियो । श्रेष्ठ र लम्सालले अन्जनीका मामा कृष्ण विकलाई सो रकम हस्तान्तरण गरेका थिए ।
त्यसैगरी साथी सहकार्य युवा क्लब निजगढ ८ का युवाहरुले पनि अन्जनीको उपचारमा आर्थिक सहयोग जुटाउन निजगढमा सांगितिक प्रस्तुती सुरु गरेका छन । क्लबका युवाहरुले हिजो सहिद चोकमा सांगितिक प्रस्तुतीमार्फत २४ हजार ५ सय २० रुपैया संकलन गरेका छन । आर्थिक सहयोग संकलनको लागि निजगढ हाट बजारमा आज पनि प्रस्तुती गरिने क्लबका अध्यक्ष विपुल लामाले जानकारी दिनुभयो ।
कार्यक्रमबाट संकलन भएको रकम अन्जलीको परिवारलाई हस्तान्तरण गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो । कमजोर आर्थिक अवस्थाकी अन्जनीको हाल काठमाण्डौंस्थित वीरअस्पतालमा डाइलासिस भइरहेकोछ । क्लबका युवाहरुले आज निजगढ वुद्धचोकमा सांगितिक प्रस्तुती गर्ने बताएकाछन ।