निजगढमा बाढी पस्ने खतरा बढेपछि निजगढ नगरपालिकाले शुरु गरेको नदी कटाने नियन्त्रणको काम हिजो (बिहिवार) पनि जारी राखेको छ ।
नगरपालिकाले बाढीको कटान नियन्त्रण गर्न बकैयामा नदी च्यानलाईज र ड्याम लगाउने काम जारी राखेको हो । नदी च्यानलाईज गरेर बकैया खोलाको बाढीलाई पश्चिमी किनारातर्फ लगाउने र पूर्वी किनारामा हुदै आएको कटान नियन्त्रणको लागि ढुङ्गा राख्ने काम एकैपटक सुरु गरिएको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो । उहाँले फास्ट ट्याक खन्ने क्रममा निकालेर मोहोरी क्षेत्रमा राखिएका ठूला ढुङ्ग टिपरबाट ओसारेर कटान क्षेत्रमा राख्ने काम भइरहेको जानकारी दिनुभयो । मौसमले साथ दिएमा २-३ दिनभित्र च्यानलाईजको काम पुरा हुने र त्यसपछि कटान नियन्त्रण र तटबन्ध निर्माणको काम थालिने नगर प्रमुख पुरीले बताउनुभयो ।
नगरको केहि भागहरुमा बाढी पस्न सक्ने सम्भावित क्षेत्रहरुमा आफुले अनुगम गरिरहेको र सोको लागी रोकथाम पनि गर्ने बताउनुहुन्छ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग ।
बाढीको अवस्था निरीक्षण गर्न मंगलवार नै निजगढ आउनुभएका जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नदी च्यानलाईजको लागि निर्देशन दिएपछि नगरपालिकाले सडक विभागको अधिकार क्षेत्रभित्र पर्ने राजमार्गको पुलको ५ मिटर क्षेत्रभित्रबाट च्यनलाईज सुरु गरेको हो । नदी च्यानलाईज र कटान नियन्त्रण गरेर बस्ति जोगाउनुपर्ने प्रजिअ सापकोटाको भनाइ छ ।
बकैया नदी च्यानलाईजको लागि अहिले सडक डिभिजन कार्यालय हेटौडा सहित नेपाली सेना र स्थानीय व्यवसायीहरुको ३ वटा एक्साभेटर र एउटा डोजर प्रयोग गरिएको नगरपालिकका प्राविधिक नविन खनालले जानकारी दिनुभयो । च्यानलाईजको काम सुरु भएसंगै मंगलवार पूर्वी किनारमा सोझिएको नदीको मुख्य भङ्गालो हिजो साँझबाट पश्चिमतर्फ फर्किएको उहाँले बताउनुभयो । २ दिनदेखिको अवविरल वर्षापछि बकैया खोलामा आएको बाढी पूर्वश्चिम राजमार्गको बकैया पुलको ड्याम कटान गरेर बस्तितर्फ बाढी पस्ने खतरा बढेपछि निजगढ नगरपालिकाले मंगलवारबाट रोकथाम प्रयास शुरु गरेको हो ।