स्थगित बनेको क्याम्पस सभा गर्न मुद्दाका दुबै पक्ष सहमत
निजगढको गौरीशंकर क्याम्पसको सभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय बाराको निर्देशन विरुद्ध अदालतमा दर्ता भएको मुद्दा उच्चअदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले तामेलीमा राखेको छ ।
मुद्दा तामेलीमा राखेर क्याम्पस सभाको प्रकृया अगाडि बढाउन दुबै पक्ष सहमत भएपछि सोही आधारमा अदालतले मुद्दा तामेलीमा राख्ने निर्णय गरेको हो । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको रोहबरमा मुद्दाका पक्ष र विपक्षीबीच गत आइतवार सहमति भएको थियो । मुद्दा तामेलीमा राखेर क्याम्पस सभाको आयोजना गर्ने र क्याम्पसको विधान समेत प्रकृया अनुसार संशोधन गर्ने सहमति भएको राप्रपा निजगढका अध्यक्ष खडकप्रसाद उप्रतीले जानकारी दिनुभयो ।
क्याम्पस संचालक समितिले यसअघि जेष्ठ ३ गतेको लागि तय गरेको क्याम्पस सभा रोक्न जिल्ला प्रशासन कार्यालय बाराले पत्राचार गरेपछि क्याम्पस सभाका सदस्य निजगढ ९ का मानबहादुर श्रेष्ठ र निजगढ ८ का मनोज रेग्मीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित निजगढका ५ राजनीतिक दलका प्रमुख विरुद्ध जेष्ठ १६ गते सभा रोक्ने आदेश बदर गरिपाउ भनी अस्थायी इजलास वीरगञ्जमा परमादेशको आदेश माग गर्दै मुद्दा दायर गरेका थिए ।
नेपाली काँग्रेश, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पाटी, राप्रपा र नेकपा समाजवादी पार्टी निजगढका प्रमुखहरुले दिएको निवेदनको अधारमा जिल्ला प्रशासन कार्यालय बाराले क्याम्पस सभा रोक्न पत्राचार गरेको थियो । निवेदकको माग अनुसार अदालतले जिल्ला प्रशासन कार्यालय कलैया र राजनितिक दलका प्रतिनिधिहरुसंग सभा स्थगित गर्नुपर्ने कारण कारण पेस गर्न १५ दिनको म्याद दिएको हो ।
मुद्दा तामेलीमा गएको भएपनि क्याम्पस सभाको अर्को मिति भने तय भइनसकेको संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले संचालक समितिको बैठक बसेर मिति तय गरिने जानकारी दिनुभएको छ ।