सामुदायिक वन दिवसको अवसरमा बिहिवार निजगढ ६मा रहेको जनसृजनशील वन उपभोक्ता समुहको वनमा वृक्षारोपण गरिएको छ । समुहको वनमा रहेको पार्कभित्र विभिन्न प्रजातिका विरुवा रोपेर सामुदायिक वन दिवस मनाइएको हो । डिभिजन वन कार्यालय बारा, सामुदायिक वन उपभोक्ता महासंघ बारा र जनसृजनशील वन उपभोक्ता समुहको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै निजगढ नगरपालिकका प्रमुख सुरथ पुरीले वन संरक्षणको लागि सामुदायिक वन समुहहरुले महत्वपूर्ण योगदान गर्दैआएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय बाराका प्रमुख डिएफओ विनोद सिंहले नेपालका सामुदायिक वन समुहहरुले संरक्षणको क्षेत्रमा गरेको कार्य विश्वमा नै अनुकरणीय रहेको बताउनुभयो । नेपालको वन क्षेत्र विस्तार भएर ४५ प्रतिसतसम्म पुग्नुमा अन्य पक्षको भन्दा सामुदायिक वनको भूमिका बढी महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
जनसृजनशील वन उपभोक्ता समुहका अध्यक्ष एवंम सामुदायिक वन निजगढ नगर संघका अध्यक्ष कुशबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यकक्रममा निजगढ नगरपालिकाकी प्रमुख सोममाया थिङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य दुर्गा कोइराला, बाराका अध्यक्ष रामजी बजगाईलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा निजगढमा रहेका सामुदायिक वनका पदाधिकारीहरु र वन कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । सोे अवसरमा वन क्षेत्रमा २ सयभन्दा बढी विरुवा रोपिएको छ ।