दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी र कटानले भत्काउन थालेपछि निजगढको लाल गाउँका बासिन्दा सडक सुरक्षाको लागि श्रमदानमा जुटेका छन ।
लाल खोलामा आइतवार बिहान आएको बाढीको कटानबाट तामागढी– रतनपुर सडकंसगै सोही स्थानमा रहेको झोलुङ्गे पुलसमेत बगाउने अवस्था उत्पन्न भएपछि सुरक्षाको लागि निजगढ नगरपालिका वडा नम्बर १० का बासिन्दा श्रमदानमा उत्रिएका हुन । निजगढ नगरपालिकाले यसअघि निर्माण गरेको च्यानलाई बाँध भत्काएर बाढीले नदीको पश्चिमी भागमा रहेको सडक र पुलको फाउण्डेशनमा कटान गर्न थालेपछि हिजोबाट स्थानीय र सशस्त्र प्रहरी निजगढको विपद् व्यवस्थापनको टोलीले तटबन्ध निर्माण सुरु गरेको निजगढ नगरपालिकाका सबइन्जिनियर नविन खनालले जानकारी दिनुभयो ।
उहाँले स्थानीय ४०-५० जनाको टोलीले बोरामा बालुवा भरेर हिजो दिनभरि नै कटान प्रभावित क्षेत्रमा बाँध निर्माण गर्ने काम गरेको जानकारी दिनुभयो । खनालका अनुसार तटबन्ध र नदी च्यानलाईजको काम बाँकी रहेकोले निर्माण कार्य पुरा नभएसम्म स्थानीयलाई सहभागी गराएर श्रमदान जारी राखिने छ । निजगढ नगरपालिकाबाट उपलब्ध गराइएको एउटा एक्साभेटर र टिपरको मद्दतमा जनश्रमदान जुटाएर कटान नियन्त्रण सुरु गरिएको निजगढ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष आशा श्रेष्ठले जानकारी दिनुभयो । गाउँ प्रवेश गर्ने अर्को सडक नभएकोले पुल र सडकको रक्षाको लागि गाउँलेहरु श्रमदानमा जुटेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
‘निजगढ बजार र पूर्वपश्चिम राजमार्गबाट गाउँमा प्रवेश गर्ने अर्को बाटो छैन, अध्यक्ष श्रेष्ठले भन्नुभयो, एउटा मात्रै सडक पनि बगायो भने गाउँ नै बन्दक जस्तै हुन्छ ।’ पूर्वमा बकैया र दुईतर्फ लाल खोला रहेको लालगाउँ उत्तरमा चुरे पहाडले घेरिएको छ । खोलाको बिचमा पर्ने भएकोले स्थानीयले हरेक वर्ष वर्षायाममा आवागमनमा समस्या बेहेर्दैआएका छन । आइतवार बिहान मात्रै पनि सोही खोलामा आएको बाढीले दुध बोक्ने एउटा (ट्याङ्कर) भ्यान बगाएको थियो । सिमराबाट गाउँमा दुध लिन जादै गरेको प्रदेश नम्बर ३–०२ च ३९० नम्बरको दुध बोक्ने पिकअप गाडी लाल खोलाको बाढीले बगाएको हो ।
नदी पार गर्ने क्रममा खोलामा एक्कासी आएको बाढीले बगाएर करिव ८ सय मिटर तल पुर्याएको पिकअपलाई स्थानीय र प्रहरीको सहयोगमा बाहिर निकालिएको थियो ।