बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिबार राती एक समूहले आक्रमण गरेको छ ।
बैरियास्थित घरमा राति करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारका सदस्यमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाईते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
घरमा बसिरहेका बेला पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणसंगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे आफूले पनि जानकारी पाएको र प्रहरी परिचालन गरिएको बताउनुभयो ।
पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाईते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।