निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गैरीगाउँमा राष्ट्रिय भूमि आयोगले सुरु गरेको जग्गा नाप जाँचको काम रोकिएपछि स्थानीयले हिजो निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीलाई भेटेर नाप जाँचको काम सुरु गर्न आग्रह गरेका छन ।
करिब १ सय जनाको सङ्ख्यामा नगरपालिका कार्यालयमा पुगेका स्थानीयले जग्गाको नाप जाँचको काम रोकिन नहुने भन्दै चाढै काम सुरु गर्न नगरप्रमुख पुरीको ध्यानाकर्षण गराएका हुन । आफुहरुलाई केहि जनप्रतिनिधिहरुले जग्गाको नाप जाँचको काम नगरपालिकाले नै रोकेको बताएपछि रोकिनुको खास कारण बुझ्न र मेयर पुरीको ध्यानाकर्षण गराउन आएको गैरीगाँउका स्थानीय विष्णु राईले प्रेसचित्र डटकमलाई बताउनुभयो ।
यता नगरपरमुख पुरीले भने आफूहरुले गैरीगाउँका बासिन्दालाई प्राथमिकतामा राखेर जग्गा नाप जाँचको काम सुरु गरेको बताउनुभयो । गैरीगाउँका सुकुम्बासीलाई जतिसक्दो चाढो जग्गाधनी पुर्जा दिने गरी निजगढ नगरपालिकाले काम गर्ने पनि उहाँले बताउनुभयो ।
गैरीगाँउमा राष्ट्रिय भूमि आयोगले सुरु गरेको जग्गा नाप जाँचको काम रोकिएपछि स्थानीय चिन्तित बनेका हुन । जग्गा नाप्ने निजगढको मेसिन बिग्रेको र जीतपुरसिमराबाट मगाएर काम सुरु गर्दैगर्दा लगातार वर्ष हुन थालेपछि केही दिनको लागि काम रोकिएको बताइएको छ । वर्षा सकिएलगत्तै नापजाचको काम सुरु गरिने नगरपालिका कार्यालयले बताएको छ ।