निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालमा आँखा चेकजाच र शल्यक्रिया गरेपछि अब वृद्ध आमा वुवाहरुले स्पष्ट दृष्टि देख्न पाउनुहुने निजगढ नगरप्रमुख सुरथ पुरीले बताउनु भएको छ ।
सोमबार निजगढ तिलगंगा आँखा अस्पतालले आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेकाहरुको आँखाको पट्टी खोल्ने कार्यक्रममा सो कुरा नगरप्रमुख पुरीले बताउनु भएको हो । नगरप्रमुख पुरीले अब सबैले छिट्टै निजगढमा सुविधा सम्पन्न काठमाडौ र हेटौेडा स्तरको तिलगंगा आँखा अस्पतालमा उपचार पाउनुहुने बताउनु भयो ।
त्यस्तै निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले ४ दिनमा ३ सय ७१ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रवारदेखि हिजोसम्म ३ सय ७१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको हो । अस्पतालले बारा र रौतहटका विभिन्न स्थानमा आयोजना गरेको आँखा जाँच शिवीरमा फेला परेका बिरामीहरुलाई निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर शल्यक्रिया गरेको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालका दिपक सुवेदीले प्रेसचित्रलाई जानकारी दिनुभयो ।
अस्पतालले निजगढ लगायत बाराको कोल्हबी, कलैया उपमहानरपालिका, रौतहटको चन्द्रपुर र कटहरिया नगरपालिकामा आयोजना गरेको शिवीरमा फेला परेका बिरामीहरुलाई निजगढमा ल्याएर शल्यक्रिया गरिएको सुवेदीले प्रेसचित्रलाई बताउनुभएको छ । आँखा शिवीरको सहआयोजक र सहजीकरण लायन्स क्लब अफ निजगढ सिटीले गरेको थियो । आँखा शिविरको नेतृत्व डा.सुनिल थकाली र डा एलिना गुरुङ्गले गर्नुभएको थियो ।