सिंगौलका ट्याक्टर व्यवसायीहरुले अस्थायी प्रहरी चौकी सिंगौलका प्रहरीहरुले आफुहरुसँग ट्याक्टर खोलामा लगे बापत प्रति ट्याक्टर ५सय देखि १ हजार सम्म घुस माग्ने गरेको आरोप लगाएका छन ।
यता उनिहरुले घरायसी प्रयोगको लागि खोलाबाट बालुवा निकाल्न पाउनुपर्ने माग राखेर हिजो निजगढ नगरपालिका कार्यालय घेराउ गरेका छन । सिंगौलबाट एक दर्जनको संख्यामा खाली ट्याक्टर सहित आएका व्यवसायीहरुले धन्सार खोलाबाट बालुवा निकाल्ने क्रममा आफूहरुलाई प्रहरी चौकी सिंगौलका प्रहरीले रकम मागेर दुख दिने गरेको ट्याक्टर व्यवसायीहरुले गुनासो गरेका थिए । उनले निजगढको क्रसर उद्योगबाट खरिद गरेर लगेको गिटी बालुवामा पनि सिंगौलका प्रहरीले पैसा मागेर दुख दिने गरेको बताएका छन ।
कार्यालय घेराउमा आएका अर्का ट्याक्टर चालकले प्रहरीले आफूहरुसंग प्रतिट्याक्टर ५ सय रुपैया घुस माग्ने गरेको आरोप लगाएका छन ।
व्यवसायीहरुले नगरप्रमुख सुरथ पुरीलाई समस्या अवगत गराएका थिए । व्यवसायीहरुले बरु हामी नगरपालिकालाई कर बुझाउन तयार रहेको तर प्रहरीलाई घुसको रकम दिन नचाहेकाले यस्तो कदम चाल्नु परेको बताए ।
यता नगरप्रमुख पुरीले नदिजन्य खोला उत्खननको आईई रिपोर्ट तयार हुदै गरेको र केहि दिनमै खोला ठेक्का लागेपछि यो समस्या हल हुने प्रेसचित्र डटकमलाई बताउनु भयो । सामान्यता घर बनाउन पनि वालुवा गिट्टी खोलाको भर पर्नु परेको र हाल खोला ठेक्का नलागेकाले खोलाबाट वालुवा गिट्टी घरयासी प्रयोजनको लागी लैजान दिनु पर्ने जनगुनासो र दवाव आएतापनि आफुले कानुनमा बाधिएकोले केहि गर्न नसकेको बताउनुभयो। जिल्ला विपद् व्यवस्थापन समितिको वैठकमा आफुले यो समस्याको विषयमा आवाज उठाउने समेत नगरप्रमुख पुरीले जानकारी दिनुभयो ।
उता, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले भने प्रहरीले कसैसंग पनि रकम नमागेको र खोलाबाट अवैध रुपमा बालुवा ढुङ्गा निकाल्न नपाएपछि व्यवसायीहरुले प्रहरीमाथि झुटा आरोप लगाएको प्रेसचित्र डटकमलाई बताउनुभयो । चालु आर्थिक वर्षको लागि नगरपालिका कार्यालयबाट नदीजन्य पदार्थको उत्खनन र बिक्रीको ठेक्का लागिनसकेकोले प्रहरीले खोलामा गिटी, बालुवा र ढुङ्गा उत्खननमा रोक लगाउदै आएको छ ।
केहि दिन अघि पनि निजगढ नगरपालिका वडा नं ४ का ट्याक्टर व्यवसायीहरुको ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा राखेर ३० हजार जरिवाना तिराएको थियो । उता ४ का ट्याक्टर व्यवसायीहरुले प्रहरीलाई आफुहरुले हप्तामा पैसा बुझाउदा समेत ट्याक्टर समातेको आरोप लगाएका थिए ।