घरायसी प्रयोगको लागि खोलाबाट बालुवा निकाल्न पाउनुपर्ने माग गर्दै निजगढ वडा नम्बर ९ का ट्याक्टर व्यवसायी र मजदुरहरुले हिजो सोमबार निजगढ नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन ।
आदर्श ट्याक्टर व्यवसायी समूहका अध्यक्ष चेतनाथ न्यौपानेको नेतृत्वमा कार्यालयमा पुगेको टोलीले निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलालाई ज्ञापन पत्र बुझाएको हो । खोला नखुल्दा सयौं ट्याक्टर व्यवसायी र मजदुरहरुको रोजगारी गुमेकोले नदीजन्य पदार्थ संकलन र बिक्रीको ठेक्का तत्काल बन्दोबस्त गर्न अध्यक्ष न्यौपानेले माग गर्नूभएको छ ।
असोज महिना लागिसक्दा नगरपालिकाले नदीजन्य पदार्थको संकलन र बिक्रीको ठेक्का नलगाएपछि नदीजन्य पदार्थको कारोबार गर्ने निजगढका ट्याक्टर व्यवसायी र मजदुरले कार्यालयमा दवाव बढाउन थालेका छन । सिंगौलका ट्याक्टर व्यवसायीहरुले पनि धन्सार खोलाबाट निर्वाध रुपमा बालुवा संकलन गर्न पाउनुपर्ने माग राखेर आइतवार निजगढ नगरपालिका कार्यालय घेराउ गरेका थिए ।
सिंगौलबाट एक दर्जनको संख्यामा खाली ट्याक्टर लिएर आएका व्यवसायीहरुले धन्सार खोलाबाट बालुवा निकाल्ने क्रममा प्रहरी चौकी सिंगौलका प्रहरीले रकम मागेर आफूहरुलाई दुःख दिने गरेको गुनासो गरेका थिए ।