दलित, सुकुम्बासी भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको छिटो लालपुर्जा वितरण गरियोस भन्दै निजगढ नगरपालिकालाई मंगलबार ज्ञापन पत्र बुझाईएको छ ।
जिल्लाका विभिन्न पालिकामा दलित, सुकुम्बासी भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न काम अघि बढेपनि निजगढमा भने अघि नबढेपछि स्थानीय सरकारलाई दबाब दिने उद्देश्यले नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीको संघर्ष समितिले निजगढ नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिका संयोजक बेनीबहादुर मुक्तानले जग्गा धनी प्रमाण पुर्जी वितरणको लागि काम अघि बढाउन निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उप-प्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलालाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।
माओवादी निजगढ कमिटीका अध्यक्ष सन्तोष दंगाल लगायत पार्टीका पदाधिकारी, सदस्य र विभिन्न वडाका कार्यकर्तासहित पुगेको टोलीले नगरपालिकाका नेतृत्वसँग छलफल समेत गरेको थियो । माओवादी नगर कमिटीले केहि दिन अघि कार्यशाला गोष्ठी गरेर संघर्ष समिति गठन गरेको थियो ।
यता निजगढ नगरपालिकाका प्रमुख पुरीले केहि प्राविधिक कारणले रोकिएको हुनाले छिटै समाधान हुने बताउनु भएको थियो ।