बाराको निजगढ नगरपालिका स्थित वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणको लागि स्थानीय एक दाताले २ कठ्ठा जमिन दान गरेकाछन ।
निजगढ ९ ठाडोलाईनका ८३ वर्षिय समाजेवी तीर्थमान लामाले इलाका प्रहरी कार्यालय निजगढबाट करिव १ किमी दक्षिणतर्फ क्याम्पस रोडको पूर्वपट्टी रहेको २ करोड बराबरको मूल्यको घडेरी जग्गा दान गर्नुभएको हो । लामाले हिजो मालपोत कार्यालय सिमरामा पुगेर निजगढ नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको नाममा जग्गाको छोडपत्र दिनुभएको थियो ।
जग्गा धनीपुर्जा तयार पार्न वडा अध्यक्ष रामचन्द्र कटवालसहित वडा सदस्यहरु चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्रकुमारी सुनवार र दाताका छोराहरु केशरबहादुर बम्जन तथा लाक्पा लामा पनि मालपोत कार्यालय सिमरा पुगेका थिए । जग्गा प्राप्त भएपछि अब चाढै नै कार्यालय भवन कार्य शुरु हुने वडा अध्यक्ष कटवालले बताउनुभएको छ । उहाँले उक्त जमिनमा एउटा सभा हलसहित ३ कोठे पक्की भवन निर्माण हुने जानकारी पनि दिनुभयो । उहाँले जग्गा दान गरेर समाजसेवाको अनुकरणीय उद्धाहरण प्रस्तुत गरेको भन्दै दाता लामासहित परिवारका सदस्यहरुलाई धन्यवाद पनि दिनुभएको छ ।
वडा कार्यालय भवन निर्माणको लागि निजगढ नगरपालिका कार्यालय अघिल्लो आर्थिक वर्षमा नै रकम विनियोजन गरिसकेको भएपनि जग्गा अभावमा भवन निर्माण कार्य शुरु हुन पाएको थिएन ।