तिलगंगा आँखा अस्पताल निजगढले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सहजीकरणमा हिजो आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरमा १६० जनाको आँखा परीक्षण गरिएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर २६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महेशपुरमा आँखा परीक्षण शिविरको आयोजना गरिएको थियो । प्रस्तावित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढ बाराको सहयोगमा सम्पन्न शिविरमा आँखा जाँच गरिएकामध्ये ३० जनामा मोतियाबिन्दु फेला परेको थियो ।
शिविरमा आँखा अस्पतालका नेत्रसहायक गजेन्द्रकुमार महत्तो, यमुना राई र क्षितीज राईले विरामीका आँखा परीक्षण गर्नु भएको थियो । आँखामा मोतियाबिन्दु भएका विरामीहरुको आँखा अस्पताल निजगढले आइतवार निःशुल्क शल्यक्रिया गरिदिने सहकारी संस्थाका अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो । विरामीहरुलाई अस्पतालसम्म लैजाने र घरमा ल्याउने काम अस्पतालले नै गर्ने हुँदा विरामीको एक रुपैंया खर्च नलाग्ने उहाँले जानकारी दिनुभयो ।
आँखा अस्पतालसँगको सहकार्यमा सहकारीले वर्षेनी २/३ वटासम्म शिविर संचालन गर्दै आएको छ । आगामी पुष १३ गते संस्थाको २१औं स्थापना दिवसको अवसरमा जीतपुरसिमरा वडा नम्बर १७ को जैतापुरस्थित विद्यालयमा बालबालिको निःशुल्क आँखा परीक्षण शिविर पनि आयोजना गरिने भएको छ । उक्त शिविरमा निःशुल्क चस्मा सहितको उपचार गर्ने कार्यक्रम रहेको खड्काले बताउनुभयो ।