बागदेव दुग्ध उत्पादक सहकारी संस्था निजगढको संचालक समितिको उपाध्यक्षका पदका उम्मेदवार गोविन्दप्रसाद घिमिरेले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।
नयाँ संचालक समिति सर्वसम्मत रुपमा चयन गर्न सहज होस भन्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको घिमिरेले प्रेसचित्र डटकमलाई बताउनुभयो । उम्मेदवारी फिर्ता लिइसकेको अवस्थामा पनि निर्वाचन समतिले आफूलाई चुनाव चिन्ह प्रदान गरकोमा घिमिरेले तीव्र असन्तुष्टि पनि जनाउनुभएको छ । ‘निर्वाचन समितिलाई लिखित जानकारी गराइसकेपछि पनि मेरो उम्मेदवारी कायम रहेको भन्दै चुनाव चिन्हसमेत प्रदान गरिएकोमा विमति जनाउदै घिमिरेले मतदान नगर्न पनि मतदातसंग आग्रह गर्नुभएको छ ।
निर्वाचन अधिकृत अजयकुमार उप्रेतीले भने समितिले सार्वजनिक गरेको कार्यतालिका विपरित समय घर्किसकेपछि घिमिरेले मनोनयन पत्र फिर्ता गर्न आवेदन दिएकोले उम्मेदवारी कायम नै रहेको चुनाव चिन्हसमेत प्रदान गरिएको बताउनुभएको छ । घिमिरेले निर्वाचनबाट बाहिरिएको घोषणा गरेपछि उपाध्यक्ष पदको लागि अब पाण्डे र तिमल्सिनाबीच प्रतिस्पर्धा हुने भएको छ । बागदेव दुध सहकारीमा उपाध्यक्ष पदको लागि मात्रै मतदान हुने भएको हो ।
संचालक समितिको अध्यक्षलगायत अन्य सबै पद र लेखा समितिमा समेत एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि बिहीवार निर्वाचन समितिले संस्थाको अध्यक्षमा थानेश्वर सापकोटा अविरलसहितलाई निर्विरोध निर्वाचित भएको घोषण थियो । उपाध्यक्ष पदको लागि आगामी पुष २७ गते मतदान हुने भएको छ । मतदानको लागि निजगढ नगरपालिकाका १३ वटै वडा २ हजार २ सयभन्दा बढी मतदाता रहेका छन । निजगढस्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले मनोनयन पत्र दर्ता नै नगरी सहकारी संस्थाको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन ।