बाराको निजगढ ९मा रहेको नेपाल मानव धर्म सेवा समितिको आश्रम भवन निर्माण गर्न भवन निर्माण समिति गठन गरिएको छ ।
निजगढ बैङ्गकुटमा हिजो भएको भेलाले साविक निजगढ गाविसका पूर्व उपाध्यक्ष अम्बिकाप्रसाद चौलागाईको अध्यक्षतामा १५ सदस्यीय भवन निर्माण समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा रौतहटका बासुदेव चौधरी, अर्की उपाध्यक्षमा अन्जु नेपाली, महासचिव गोपाल लम्साल, सचिवमा रौतहटका जयराम राई, सहसचिवमा रामकृष्ण घिमिरे र कोषाध्यक्षमा रतनपुरीकी राजकुमारी गुरो रहुनभएको छ ।
सेवा समाजले निजगढ ९ स्थित अस्पताल रोडमा ३ करोड २२ लाखको लागतमा अढाइ तलाको सभाहल सहित १० कोठे पक्की आश्रम भवन निर्माण गर्न लागेको हो । गत महिना भएको श्रीमद्भागत महायज्ञबाट संकलन भएको रकम र अन्य स्रोत लगाएर निजगढमा बारा जिल्ला स्तरीय आश्रम भवन निर्माण हुन लागेको हो । महायज्ञमा भवन निर्माणको लागि दानबापत करिव १ करोड २५ लाख रुपैया संकलन भएको थियो । आश्रम निर्माणको लागि नक्सा निर्माण लगायत प्रारम्भिक काम पुरा भइसकेको समितिका महासचिव गोपाल लम्सालले जानकारी दिनुभयो ।
यसैबीच हिजो नै भएको भेलाले मानव धर्म सेवा समितिको सल्लाहाकार सदस्यमा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया लामा, पूर्व नगर प्रमुख सुरेश खनाल, पूर्वउपप्रमुख लिलादेबी लामिछाने खनाल, गौरीशंकर कलेज निजगढका सचालक समतिका अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन कोइरालासहित २५ जनालाई चयन गरेको छ ।
माघी पर्वको अवसरमा सेवा समितिले आयोजना गरेको कार्यक्रममा श्रद्धालुहरुले भजन किर्तन सहित धार्मिक गित र नृत्यसमेत प्रस्तुत गरेको भवन निर्माण समितिका महासचिव लम्सालले जानकारी दिनुभयो ।