निजगढ नगरपालिका कार्यालयले आफ्नो क्षेत्रमा पर्ने खोलाको ढुङ्गा, बालुवाको उत्खनन र निकासीको लागि टेण्डर आह्वान गरेको छ ।
लामो समयदेखि टेण्डर नखोलेको भन्दै आलोचना खेप्दै आएको निजगढ नगरपालिकाले माघ १ गते सूचना सार्वजनिक गरेर बकैया, धनसार र लाल÷भक्तलाल खोलाबाट नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि टेण्डर आह्वान गरेको हो । कार्यालयले दर्ता योग्य फर्म वा कम्पनीहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको हो । बोलपत्रमा उल्लेख भए अनुसार बकैया, भक्तलाल र शक्ति खोलामा स्वीकृत आईई प्रतिवेदन अनुसार ७० लाख ६६ हजार ८ घन फिट नदीजन्य पदार्थको निकासी र बिक्री गर्न ६ करोड ३३ लाख ३९ हजार सात सय छत्तीस रुपैयाँ बत्तीस पैसा न्यूनतम कबोल रकम तोकिएको छ ।
त्यसैगरि धनसार र बगरे खोलाको लागि ३३ लाख ७० हजार १ सय २२ घन फिट नदीजन्य पदार्थको निकासी र बिक्रीको लागि ३ करोड ४६ लाख ५ हजार नौ सय तीन रुपैँया न्यूनतम कबोल रकम तोकिएको छ । निजगढ नगरपालिका अन्तर्गतको बकैया खोला, बगर खोला र शक्ति खोलामा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागि ढुङ्गा बालुवाको उत्खनन र निकासीको लागि बोलपत्र आह्वान गरिएको छ ।
सो टेण्डर भर्ने अन्तिम मिति आगामी फागुन २ गतेसम्म रहेको कार्यालयका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभएको छ ।