दलित युवासँग प्रेम गरेकोभन्दै आफ्नै १५ वर्षीय छोरीको हत्या गरेको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । महतोले गत साउन ११ मा मामाघर बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुरको सुगौलीमा रहेको खोला किनारमा हत्या गरेर शव फालेको प्रहरीले बताएको छ । कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो ।
शवको पहिचान करिब २० दिनअघि मात्रै भएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहकाअनुसार शवको बारेमा कुनै जानकारी नपाएपछि केसलाई थाती राखिएको थियो । तर, करिब साढे ५ महिनादेखि छोरी बेपत्ता रहेकोबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि सोधपुछ गर्दै जाँदा महतोले छोरीको हत्या गरेको स्वीकार गरेका एसपी शाहले बताउनुभयो । कोशिलाको शव पहिचान भएपछि बुबा महतोलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको र विस्तृत जानकारी आउन बाँकी रहेको पनि एसपी शाहले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले त्रिवेणीका स्थानीयहरूबाट महतोले आफ्नै छोरीलाई बेपत्ता बनाएको जानकारी आएपछि छोरीको हत्यामा बुवाको संलग्नता रहेको खुलेको बताउनुभएको छ । पुस २० गते चार महिनादेखि छोरीलाई बेपत्ता बनाएको सूचना पाएपछि गाउँ र परिवारको २० जनाभन्दा बढीलाई व्यक्तिहरूसँग सोधपुछ गर्दा परिवारबाट नै बेपत्ता बनाइएकी किशोरीको हत्या गरेको र घटनालाई लुकाउन खोजिएको एसपी काफ्लेले बताउनुभयो । मृतक किशोरी गाउँको गङ्गा साह मावि कक्षा ८ मा अध्ययन गर्दै थिइन । उनको स्थानीय दलित युवा कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेका कारणले हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
बैठासंग कुनै सम्बन्ध नराख्न परिवारले कौशिलालाई दबाब दिँदै आएको तर, नमानेपछि छोरीको हत्या गरेको हरिन्द्रले स्वीकारेको डिएसपी न्यौपानेले बताउनुभयो ।