जीतपुरसिमरा उपमहानगरमा प्रथम जीतपुरसिमरा महोत्सव २०८० हुने भएको छ । महोत्सव आयोजनाका विषयमा हिजो पत्रकार सम्मेलन गरी आयोजकले महोत्सव बारे जानकारी दिएको हो ।
स्थानीय उत्पादनसंगै पर्यटन प्रवद्र्धन गरी आर्थिक गतिविधि तीव्र पार्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सव आगामी १८ गतेबाट २९ गतेसम्म रहनेछ । नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले स्थानीय उद्योगहरुको उत्पादन, कृषि, पर्यटनको प्रवर्धनसँगै आर्थिक गतिविधि वृद्धिका लागि महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।
पालिकाको वडा नम्बर ३ बजनीमा ह्ुने महोत्वसका लागि आवश्यक तयारी भइरहेकोभन्दै महोत्सवमा व्यवसायिक क्षेत्रमा आएको आधुनिक प्रविधिको प्रदर्शनी, स्थानीय कला, विभिन्न जाती र जनजातीहरुको संस्कृति झल्कने झाँकी समेत प्रस्तुत गरिने छ । यसैगरी पर्यटन प्रवद्र्धनका लागि मधेस प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज, प्रसिद्ध गढिमाई मन्दिर, कंकाली मन्दिर लगायतका मुख्य पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार कार्यमा महोत्सव सफल हुने बताइएको छ । महोत्सवमा २ सय स्टल रहने र ति मध्ये १ सयभन्दा बढी स्टल बुक भइसेको आयोजक संघका महासचिव प्रकाश गिरीले जानकारी दिनुभयो । स्टल बुक हुने क्रम जारी रहेको र यसको लागि न्युनतम ८ हजारदेखि २५ हजारसम्म रकम तिर्नुपर्ने उहाँले बताउनुभयो । महोत्सव अवलोकनका लागि विद्यार्थीले २५, सर्वसाधारणले ५० र बेलुकी सेशनको लागि १०० रुपैंया शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बताइएको छ ।
जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि भने निशुल्क टिकटको व्यवस्था गरिएको संघकाक महासचिव गिरीले जानकारी दिनुभएको छ । पत्रकार सम्मेलनमा संघका पूर्वअध्यक्ष संजयकुमार साह, घनश्याम गिरी, नेपाल पत्रकार महासंघ बारका अध्यक्षसमेत रहनुभएका रेशम तिवारी, संघका पदाधिकारीसहित स्थानीय साना–ठुला व्यवसायीहरुकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य राजुराज गिरीले गर्नुभएको थियो ।