बाराको निजगढ नगरपालिकामा आइतवारबाट दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु भएको छ । अभियानको पहिलो दिन हिजो २३ प्रतिशत बालबालिकालाई खोप लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
अभियान अन्तर्गत नगरमा ९ महिनादेखि १५ वर्ष उमेर समुहका करिव १४ हजार बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाउने स्वस्थ्य शाखाको योजना छ । पहिलो दिन ९ महिना देखि ५ वर्ष सम्मका ५ सय ३८ जना र ५ वर्षदेखि १५ वर्षमा ३ हजार ४ सय ७३ बालबालिकाले खोप लगाएका छन । निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले पहिलो दिनमै २३ प्रतिशतले खोप लगाउनु उत्साहजनक भएको बताउनुभयो ।
निजगढ नगरपालिकाको १३ वटा वडाका विद्यालय र स्वास्थ्य केन्द्रहरुमा पुगेर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र स्वमंसेवकहरुले बालबालिकालाई खोप लगाएका थिए । खोपको अभियानको निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ्ग र सम्बन्धित वडाका जनप्रतिनिधिरहरुले अनुगमन गरेका थिए ।
अभियानलाई सफल पार्न नगरपालिकाभित्र २६ जना स्वास्थ्यकर्मी, २७ जना महिला स्वास्थ्य स्वंमसेविका र ३९ जना स्वंमसेवक र विद्यालयका शिक्षकहरु समेत गरी करिव १ सय जनालाई परिचालन गरिएको छ । खोप आगामी २४ गतेसम्म लगाइने बताइएको छ ।