नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन ०८४ मा पार्टीले बहुमत प्राप्त गरेपछि मात्रै मुलुकले राजनीतिक स्थायित्वसंगै सम्बृद्धि पनि हासिल गर्ने बताउनुभएको छ ।
एमाले बाराको ११औँ जिल्ला अधिवेसनको कलैयामा सोमवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिक स्थिरता ल्याएर देशमा विकासको गति तीव्र पार्ने पार्टीको पहिलो प्राथमिकता र संकल्प रहेको उहाँको भनाई छ । ‘मुलुकमा राजनीतिक स्थिरता नभएसम्म विकास हुदैन, त्यसैले राजनीतिक स्थिरताका लागि पनि जनताले एमालेलाई बहुमत दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘देशको विकासको लागि एमालेको बहुमतको सरकारको आवश्यकता छ ।
’ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारको आयु छोटो छ, भन्ने कुरा बजारी हल्ला मात्रै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार निर्माण हुनुको कारण समेत खोल्नुभयो । एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालिन काँग्रस सम्बद्ध गठबन्ध आफ्नै बोझले ढलेपछि पछिल्लो समीकरण तयार भएको बताउनुभयो । देश विकास र समृद्धिका लागि काँग्र्रेस बाधक बन्दा समस्या भएको उहाँको भनाई थियो ।
एमाले बारा अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको उद्धाटन सत्रमा एमाले सचिव एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, केन्द्रिय सचिव एवं मधेस प्रदेश ईन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, अच्युत मैनाली, रामदयाल मंडल, कृषि तथा पशुपन्छी मन्त्री एवं पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह, मधेस प्रदेश कमिटी अध्यक्ष चन्द्रश्वर मण्डल, सचिव मनोज पौडेललगायतले अधिवेश सफलताको कामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा एमाले बारा जिल्ला उपाध्यक्ष टिना सुवेदी स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण एमाले बारा जिल्ला कमिटी सचिव अध्यानन्द पाण्डेले गर्नुभएको थियो ।