निजगढ नगरपालिका ५ मा एक जना स्कुले बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका २ जना युवकमाथि अनुसन्धान गर्न जिल्ला अदालत बाराले प्रहरीलाई ७ दिनको म्याद दिएको छ ।
स्थानीय जनजागृति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत १२ वर्षकी एक बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका निजगढ नगरपालिका ४ का ३३ बर्षिय संयोग खतिवडा र २७ वर्षिय दिनेश चौलागाईलाई निजगढ प्रहरीले हिजो जिल्ला अदालत बारामा पेस गरेको थियो । घटनाको अनुसन्धान गर्न प्रहरीलाई अदालतले ७ दिनको म्याद दिएको ईलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । विद्यालयबाट घरतर्फ जादै गरेको अवस्थामा उनीहरुले ललाइफकाई सडक नजिकैको केराबारीमा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
विद्यालयको होमवर्क गरेको कापी घरमै छुटेपछि कक्षा छोडेर कापी लिन घरतर्फ जादै गरेको अवस्थामा मोटरसाइकलमा रहेका २ जना युवकले मंगलवार दिउसो १२.३० बजे बाटो छेकेर पैसा र मिठाइ दिने प्रलोभनमा परी बलात्कार गरेको र खोजतलासको क्रममा उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक कुशुवाहाले जानकारी दिनुभयो । प्रहरीले खतिवडालाई मंगलवार राति र चौलागाईलाई हिजो दिउसो नियन्त्रणमा लिएको थियो । खतिवडा पक्राउ परिसकेपछि पनि अर्का दोषिलाई पक्राउ नगरिएकोभन्दै पीडितका आफन्त र स्थानीयले मंगलवार दिउसो प्रहरी कार्यालय घेराउ गरेर नाराबाजी समेत गरेका थिए ।
बालिकाको मंगलवार नै प्रादेशिक अस्पताल कलैयामा लगेर शारीरिक परीक्षण गरिएको र घटनाको थप अनुसन्धान कार्य भइरहेको निरीक्षक कुशवाहाले जानकारी दिनुभयो । यसैबीच जनजागृति आधारभूत विद्यालयले हिजो सूचना निकालेर आफ्ना नानी बाबुहरुलाई बिहान १० बजेभित्र नै विद्यालयको गेटभित्र प्रवेश गराइसक्न अभिभावकहरुसंग आग्रह गरेको छ । विद्यालयमा अध्ययन गर्ने छात्रा असुरक्षित बनेपछि विद्यालयले सूचना जारी गरेर अभिभावकहरुसंग यस्तो आग्रह गरेको हो ।
प्रधानाध्यापक शिव नेपालले हस्ताक्षर गरेर जारी गरेको सूचनामा १० बजेपछि विद्यालयको गेट बन्द रहने पनि जनाइएको छ । त्यसैगरी सूचनामा एलकेजी र युकेजी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिउसो ३ः२० बजेदेखि ३ः३० बजेभित्र विद्यालयमा लिनआउन पनि अभिभावकहरुसंग अनुरोध गरिएको छ ।