बकैया खोलाको बाढीले बगाएर बेपत्ता भएकी मकवानपुरको बकैया गाउँपालिकाकी महिलाको शव फेला परेको छ ।
आइतवार बिहान बकैया गाउँपालिकाको कैलेनी खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता बनेकी बकैया गाउँपालिका वडा नम्बर ६ कैलेनीकी ३६ वर्षिय नानुमाया तितुङको शव हिजो दिउसो निजगढस्थित पूर्वपश्चिम राजमार्गको बकैया खोला पुलबाट दक्षिणतर्फ खोला किनारामा फेला परेको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
महिलाको शव बकैया खोलाबाट कोल्हबी नगरपालिकाका किसानले सिँचाईको लागि खनेको कच्ची कुलोको भलमा फेला परेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक अमिल कुशवाहाले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका लागि विदेश जान लागेका छोरा छिरिङ तितुङलाई बिदाई गर्न श्रीमान् राजकुमारसँगै निजगढ आएकी नानुमायालाई घर फर्किने क्रममा आइतवार बिहान कैलेनी खोलाले बगाएर बकैयामा ल्याएको थियो ।
निजगढबाट बकैया फर्कने क्रममा खोलाले बगाएर नानुमाया बेपत्ता भएको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए। भोम्जनका अनुसार, खोला तर्नेक्रममा उनलाई बगाएको तराई-मधेस फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका थिए। छोराको काठमाण्डौं बिदाइ गरेर श्रीमान-श्रीमती निजगढ– १० लाल गाउँबाट कैलेनी फर्किदै गरेका थिए ।
आमालाई बगाएको खबर सुनेपछि आइतवार राति नै साउदी अरबको फ्लाइट रहेका छोरा छिरिङ घर फर्किएका छन् । खोलाले बगाएर बेपत्ता भएकी नानुमायालाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले समेत आइतवारबाट नै खोजी गरेका थिए ।