आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि हिजो निजगढको गौरीशंकर क्याम्पसमा विद्यार्थीहरुले मनोनय पत्र दर्ता गरेका छन ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी संगठन (नेविसंघ) र अखिल क्रान्तिकारीहरुले जुलुससहित क्याम्पस कार्यालयमा पुगेर प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेदवारहरुको मनोनय पत्र दर्ता गरेका हुन । विद्यार्थीहरुसंगै तीनका माउ पार्टीका स्थानीय नेता कार्यकर्ता पनि क्याम्पस पुगेका थिए । निर्वाचन समितिका संयोजक गोविन्द अधिकारीका अनुसार अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेदवारहरुको मनोनयन गरेका हुन । क्याम्पसको स्ववियुमा सभापतीसहित ८ जना प्रतक्ष्य र उपसभापती सहित ७ जना समानुपातिकतर्फबाट चुनिने छ ।


अनेरास्ववियुले बालकृष्ण हुमागाई नेतृत्वको प्यानललाई मैदानमा उतारेको सो प्यानलबाट प्रेक्षा उप्रेती सचिव, ललिता सापकोटा कोषाध्यक्ष र सदस्यमा लसाङ्गडोल्मा मुक्तान, समिता श्रेष्ठ, समिर तामाङ्ग, नेहा कुमर र नेहाकुमारी ठाकुर उम्मेदवार बनेका छन । समानुपातिकतर्फ भने अनेरास्ववियुले निशान्त गौतम, मोनिका घिमिरे, सागर दहाल, कैलास दहाल, समिना लामा र सुहाना श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्ता गरेपछि अनेरास्ववियुबाट सभापतीका उम्मेदवार हुमागाईले आफ्नो उम्मेदवारी विद्यार्थीहरुको हकहितको लागि भएको बताउनुभएको छ ।
नेविसंघले भने धावा लामा बोम्जनको नेतृत्वमा प्यानल बनाएको छ । सो प्यानलबाट सचिवमा प्रवना लामा, कोषाध्यक्षमा रामकुमार कुवर, र सदस्यहरुमा रिया सिग्देल, विश्वास सुवार बजगाई, मोनिकाकुमारी कुवर र रोहित साह कानु छन ।
अखिल क्रान्तिकारीबाट उज्जल प्रसाई नेतृत्वको प्यानलले मनोनय दर्ता गरेको हो । उक्त प्यानलबाट सचिवमा विशाल तिमल्सिना र कोषाध्यक्षमा स्मृति खरेलले उम्मेदवारी दिएका छन ।
बारा जिल्लामा रहेका ७ वटा सामुदायिक कलेजहरु मध्ये गौरीशंकरमा मात्रै यो वर्ष पहिलो पटक स्ववियुको निर्वाचन हुनलागेको हो । जिल्लाको कलैयामा रामाराजा क्याम्पस, सिमरामा सिमरा कलेज, डुमरवानामा डुमरवाना बहुमुखी क्याम्पस, कोल्हबी नगरपालिकाको सपहीमा सपही कलेज, महागढीमाई नगरपालिकामा बरियारपुर क्याम्पस र जीतपुरमा बकुलिया क्याम्पस छन् ।
यो वर्ष त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव हुन लागेको हो । चुनावमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।