असार १५ अर्थात धान दिवस, नेपालको अधिकाशं स्थानमा असार १५ को अवसरमा धान रोपेर धान दिवश मनाईयो ।
निजगढ नगरपालिकाले हिजो निजगढ नगरपालिका वडा नम्बर १० स्थित शान्तिटोलमा विविध कार्यक्रमसहित धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाएको छ । स्थानीय किसान राजन अधिकारीको खेतमा रोपाइँ गरेर नगरपालिका कार्यालयले धान दिवस मनाएको हो । निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, विभिन्न वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कृषक समूहहरु, सहकारीकर्मीहरु, सञ्चारकर्मीहरु तथा नगर कार्यपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


‘धान बालीमा सघनता, खाद्य सुरक्षा तथा आत्मनिर्भरता’ भन्ने नाराका साथ २२औं राष्ट्रिय धान दिवस– २०८२ मनाइएको हो । धान दिवसको अवसरमा कृषकहरूप्रति सम्मान प्रकट गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर बन्न सक्ने क्षमता विकास गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा रोपाईं, परम्परागत सांस्कृतिक झाँकी र कृषकहरुको सहभागितामा विशेष सांस्कृतिक गतिविधिहरु पनि समावेश गरिएका थिए ।
















