निजगढ १ सिंगौलस्थित नमुना बस्तीमा बन्न लागेको नालामा निर्माण कम्पनीले चरम लापरबाही गरेर स्थानीयको जीउधनमा जोखिम बढाएकोभन्दै नेकपा एमाले वडा नं १ कमिटीले विरोध जनाएको छ ।
बस्तिको पूर्वतर्फ एम.एस. घण्टीमाई कन्ट्रक्सनले नाला निर्माणमा लापरबाही भएकोभन्दै एमाले वडा नम्बर १ कमिटीका अध्यक्ष कुमार खडकाले हिजो विज्ञप्ति निकालेर विरोध जनाउनुभएको हो । विज्ञप्तिमा स्थानीयको जनजीवन प्रभावित हुने गरी नाला निर्माण कार्य अधुरो छाडिएको र दुर्घटना बढेको भनिएको छ ।


विज्ञप्तिमा अगाडि भनिएको छ, ‘केही दिनअघि नाला निर्माणको लागि खनिएको खाल्टो अलपत्र छोडिएको र खाल्टोका कारण स्थानीयको गोठ, खोर, खेत र कुलोलगायतका संरचनामा क्षति पुगेको छ ।’ धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला सिँचाइ कुलो र सडक अवरुद्ध स्थानीयले समस्या बेहोर्नुपरेको उल्लेख गर्दै पार्टी अध्यक्ष खडकाले यथाशिघ्र निर्माण कार्य सम्पन्न गर्न वा खाल्टो पुर्ने व्यवस्था मिलाउन माग गर्दै अन्यथा निर्माण कम्पनी विरुद्ध दवावमूलक आन्दोलनको कार्यक्रम संचालन गर्ने चेतावनीसमेत दिनुभएको छ ।

















