खडेरीको असरका कारण मधेस प्रदेशका आठ जिल्लामा यस वर्ष हालसम्म करिब ७७ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार प्रदेशमै सबैभन्दा बढी बारा जिल्लामा ९५ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ।
प्रदेशको पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने परम्परा भए पनि हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ।


यद्यपि पर्याप्त वर्षा नभए पनि बोरिङको प्रयोगका साथै बारा–पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ सुविधा प्राप्त गरेकाले केही क्षेत्रमा रोपाइँ बढेको छ। तर, धनुषामा कमला नदी सुक्दा किसानलाई गम्भीर समस्या परेको छ।
यो वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म मात्र रोपाइँ हुने अनुमान छ। ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत कमी हुने सम्भावना रहेको निर्देशक यादवको भनाइ छ।
सुक्खा र खडेरी प्रभावित किसानका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले तत्काल राहत दिने घोषणा गरेपछि हालसम्म २२ हजार ५२ किसानले आवेदन दिएका छन्।
सिँचाइ व्यवस्थापन सहयोगका लागि प्रदेश सरकारले १८ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि यो पर्याप्त नभएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए। साथै, उनले यस विषयमा सङ्घीय सरकारको निर्णयको पर्खाइ भइरहेको जानकारी दिए। रासस
















