एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४६.२२ प्रतिशतले बढेको छ।
अघिल्लो वर्ष २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारण बनेको छ, जसले नाफा वृद्धिदरलाई ब्याज आम्दानीको भन्दा बढी स्तरमा पुर्याएको छ।


समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४% र फी तथा कमिशन आम्दानी २१.६२% बढेको छ। कुल सञ्चालन आम्दानी १४.३४% र सञ्चालन मुनाफा ६४.४६% वृद्धि भएको छ। इम्पेरमेन्ट चार्ज २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा पुगेको छ।
बैंकको चुक्ता पूँजी १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४१ पैसा पुगेको छ।
नाफासँगै EPS पनि वृद्धि भई ५ रुपैयाँ ६६ पैसाले बढेर १७ रुपैयाँ ९० पैसामा पुगेको छ। आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको P/E अनुपात १५.१० गुणा र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ।
















