शिवम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेको छ । शिवमले गत साल ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो वर्षको सोही अवधिको २५ करोड ९६ लाख रुपैयाँ नाफाको तुलनामा २०५.८५ प्रतिशतले बढी हो। नाफा वृद्धिको बाबजुद कम्पनीको सञ्चालन आम्दानी भने ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ।
प्रतिशेयर आम्दानी अघिल्लो वर्षको ५ रुपैयाँ १६ पैसाबाट बढेर १४ रुपैयाँ ५५ पैसा पुगेको छ। कम्पनीको चुक्ता पुँजी ८.५५ प्रतिशतले बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने सञ्चित मुनाफा १०.४६ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड रुपैयाँमा पुगेको छ। स्थायी सम्पत्ति ७.५५ प्रतिशतले बढ्दै ३ अर्ब ८८ करोड रुपैयाँमा पुगेको छ भने कुल लगानी ३.७१ प्रतिशतले बढेर ४ अर्ब ७५ करोड रुपैयाँमा पुगेको छ।


प्रतिशेयर खुद सम्पत्ति मूल्य १८८ रुपैयाँ ८४ पैसाबाट सामान्य घट्दै १८८ रुपैयाँ ५७ पैसामा पुगेको छ। त्रैमासको अन्त्यमा कम्पनीको सेयर मूल्य ५३५ रुपैयाँ ४ पैसा कायम रह्यो, जसअनुसार मूल्य–आर्जन अनुपात ३६.७७ गुणा रहेको छ।
















