काठमाडौँ २९ श्रावण २०८२–।
राष्ट्रिय वाणिज्य बैंकले पौने ४ अर्ब भन्दा धेरै नाफा गरेको छ । बैंकको आर्थिक वर्ष २०८१र८२ को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षमा ३ अर्ब ८१ करोड नाफा कमाएको हो ।


बैकले अघिल्लो आर्थिक वर्ष २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको बैंकको नाफा गत वर्षको भन्दा करिब ५० प्रतिशत बढेको हो।
बैंकको व्यवसायबाट प्राप्त स्थिर जस्तै रहे पनि इम्पेरमेन्ट चार्ज तथा ह्रासकट्टी खर्चमा छुट्टाउनुपर्ने रकम घटेको तथा अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढेको देखिएको छ । गत वर्ष इम्पेरिमेन्ट चार्जमा १ अर्ब १४ करोड रुपैयाँ छुट्याएको बैंकले यो वर्ष ७१ करोड रुपैयाँ मात्रै छुट्याएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड बराबर गरेको छ। कमिसन तथा शुल्कतर्फको आम्दानी १ अर्ब २५ करोड गरेको बैंकले सञ्चालन तथा कर्मचारी खर्चमा झन्डै ४ अर्ब ७८ करोड रुपैयाँ खर्चेको छ ।
१५ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३७ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।
असार मसान्तसम्ममा बैंकले ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ३० करोड रुपैयाँ रहेको छ जुन प्रतिशेयर आम्दानी १.९४ रुपैयाँ बराबर हो । पूर्ण सरकारी स्वामित्व रहेको यो बैंकले यस हिसाबले लाभांश दिन नसक्ने देखिन्छ । बैंकको प्रतिशेयर आम्दानी २४.४० रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा ३।५९ प्रतिशतमा झरेको छ । बैंकको पुँजीकोष अनुपात ११।८४ प्रतिशत, कस्ट अफ फण्ड ३।३३ प्रतिशत, बेसरेट ४।७८ प्रतिशत र ब्याजको स्प्रेडदर ३।७५ प्रतिशत रहेको छ ।
















