काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि मागभन्दा १५० दशमलव ५२ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले सर्वसाधारणका लागि साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आईपीओ निष्कासन गरेको हो । तोकिएको अवधिभित्र २५ लाख २८ हजार ५५१ जना आवेदकहरूबाट २ करोड ९३ लाख ८१ हजार ६५० कित्ता आईपीओ खरीद माग भएको हो ।


कम्पनीले जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन तथा बाँडफाँट गरिसकिएको छ । योबाहेक १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूका लागि र ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि समेत दोस्रो चरणमा कम्पनीले १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको १ लाख ९५ हजार १९५ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीको आईपीओ १९ हजार ५१९ जनाले मात्र प्राप्त गर्नेछन् । यी आवेदकहरूमध्ये ५ जनालाई एक कित्ता शेयर थप प्राप्त हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
















