नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका छन् । पक्राउ पर्नेमा
युथ कांग्रेस नेपालका पाँच जना सदस्य पक्राउ परेका छन् । संघीय संसद भवनअगाडि शनिबार दिउँसो ४ बजेतिर प्रदर्शन गरिरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।


युथ कांग्रेस नेपालका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष बिराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल तथा सदस्य अशिष शर्मा रहेका छन् ।
युथ कांग्रेस नेपालले आफ्ना सदस्यको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ । संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो आन्दोलन पूर्णतः शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक अधिकारको रक्षार्थ गरिएको प्रदर्शन हो । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका आवाजलाई दबाउने कुनै पनि प्रयास अस्वीकार्य छ ।”
संगठनले पक्राउ परेका आफ्ना सबै साथीहरूको तत्काल र शर्तविहीन रिहाइको माग गरेको छ । साथै विज्ञप्तिमा भविष्यमा यस प्रकारका शान्तिपूर्ण आन्दोलनलाई गैर-लोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराइएको छ । उनीहरूले मास्क र त्यसमाथि क्रस साइन भएको कालो टेप लगाएका थिए । साथमा ‘स्टाटस लेख्न नपाउने भए मन्त्रीजीको भाषण पनि म्युट गर’, ‘प्रतिबन्ध होइन, ऐनमार्फत नियमन गर’, ‘भाषणमा डिजिटाइजेसनको नारा, सोसल मिडिया बन्द गरेर के हो पारा’ लगायतका पम्प्लेट बोकेर बिरोधमा निस्किएका थिए ।
















