जेनजी आन्दोलनको नाममा गत भाद्र २४ गते गरिएको आगजनीबाट कार्यालयका सामग्री नष्ट भई सेवा प्रभावित हुँदै आएको निजगढ नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयलाई स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आवश्यक सामग्री सहयोग गरेका छन्।
स्थानीय समाजसेवी तथा व्यवसायी राजन श्रेष्ठले वडा कार्यालयलाई एक थान तातो, चिसो तथा सामान्य पानी निस्कने वातानुकूलित वाटर डिस्पेन्सर सहयोग गर्नुभएको छ। त्यस्तै, सोही वडाका युवा समाजसेवीहरू दिनेश श्रेष्ठ, एकलाल श्रेष्ठ (भक्ते) र ललित श्रेष्ठले संयुक्त रूपमा एक थान डेल कम्प्युटर वडा कार्यालयलाई प्रदान गरेका छन्।


वडा कार्यालयमा आज आयोजित एक कार्यक्रममा व्यवसायी श्रेष्ठले वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा सदस्यहरू चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्रकुमारी सुनार तथा वडा सचिव सोम सिं लामाको उपस्थितिमा करिब १२ हजार रुपैयाँ मूल्य बराबरको वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो।
सो अवसरमा व्यवसायी श्रेष्ठले वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै वाटर डिस्पेन्सर सहयोग गरेको बताउनुभयो।
















