बागलुङका पहाडी तथा ग्रामीण भेगमा यस याममा सुन्तलाका बगान पहेँलाम्मे देखिन थालेका छन् । उत्पादन राम्रो भए पनि किसान भने उचित मूल्य नपाएको गुनासो गरिरहेका छन् ।
काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्र सुन्तला उत्पादनका प्रमुख केन्द्र मानिन्छन् । तर, व्यापारीहरू सिधै बगानमै पुगेर अग्रिम रूपमा सुन्तला खरिद गर्ने प्रवृत्तिका कारण किसानहरू हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको बताउँछन् ।


बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काका अनुसार शहरी बजारमा प्रतिकिलो १२० रुपैयाँभन्दा बढी मूल्य पर्ने सुन्तला गाउँबाट भने ४० देखि ५० रुपैयाँमै उठाइने गरेको छ । “व्यापारीले साउन–भदौमै बगान नै किन्छन्, हामीले बजारसम्म पुर्याएर बेच्ने विकल्प छैन,” उहाँले भन्नुभयो । यसरी मूल्य निर्धारण व्यापारीको हातमा हुँदा किसान र उपभोक्ता दुवै मारमा परेको खड्काको भनाइ छ ।
सिगाना क्षेत्रमा सुन्तला उत्पादन उच्च भए पनि उचित बजारीकरणको व्यवस्था नहुँदा किसानको आम्दानी अपेक्षित रूपमा बढ्न नसकेको उहाँ बताउनुहुन्छ । उत्पादनअनुसारको मूल्य पाउन सके यस क्षेत्रका किसानको जीवनस्तर उल्लेखनीय रूपमा सुधार हुने खड्काको धारणा छ ।
त्यस्तै, अर्का किसान हरिप्रसाद कँडेलले पनि व्यापारीहरूले किसानबाट सस्तोमा सुन्तला खरिद गरी बजारमा अत्यधिक नाफा लिने गरेको गुनासो गर्नुभयो । उहाँका अनुसार किसानबाट प्रतिकिलो ८० रुपैयाँमा खरिद गरी बजारमा १०० रुपैयाँमा बिक्री गर्ने व्यवस्था भए किसान र उपभोक्ता दुवै लाभान्वित हुने थिए ।
कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष बागलुङमा करिब २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । सो वर्ष चार हजार ७१ दशमलव ६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानहरूले सुन्तला टिप्न सुरु गरेकाले उत्पादनसम्बन्धी तथ्याङ्क संकलनको काम जारी रहेको कार्यालयले जनाएको छ ।
















