लगातारको शीतलहरका कारण मधेसका जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ। चिसो हावाले सिरहाको लहान बजारसहित ग्रामीण भेगको दैनिकी कष्टकर बन्दै गएको हो।
शीतलहरको असर विशेषगरी बालबालिका, वृद्धवृद्धा र विपन्न समुदायमा बढी देखिएको छ। बिहानैदेखि स्थानीयवासी घुर तापेर समय बिताउन बाध्य छन् भने चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ।


बढ्दो चिसोलाई मध्यनजर गर्दै लहान नगरपालिकाले राहतका कार्यक्रम सुरु गरेको छ। नगरपालिकाले आज बिहानैदेखि बजार क्षेत्रका प्रमुख चोकचोकमा दाउरा बाल्ने व्यवस्था मिलाएको हो। नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार ग्रामीण चोक, राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोकलगायत स्थानमा दाउरा बाल्ने काम सुरु गरिएको छ।
“चिसोबाट नगरवासीलाई जोगाउन तत्काल राहतका कार्यक्रम अघि बढाएका छौँ,” नगरप्रमुख चौधरीले भने, “बजार क्षेत्रका मुख्य चोकमा दाउरा बालिएको छ भने वडासँग समन्वय गरेर २४ वटै वडाका आवश्यक स्थानमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ।” उनका अनुसार गरिब तथा विपन्न समुदायलाई लक्षित गरी ५०० परिवारलाई फाइबरका सिरक वितरण गर्ने योजना पनि बनाइएको छ।
उता, मौसममा आएको अचानक परिवर्तन र निरन्तर चिसो हावाका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिए। अत्यधिक चिसोका कारण विशेषगरी विपन्न परिवारका बालबालिकासँग न्यानो लुगाको अभाव हुँदा नियमित रूपमा विद्यालय आउन नसकेको उनले बताए।
यसैबीच, डिभिजन वन कार्यालय लहानले पनि जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ। कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
शीतलहरको प्रभाव बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। उनका अनुसार जिल्लाका १७ वटै स्थानीय तहका प्रमुखसँग छलफल भइरहेको छ र छिट्टै बैठक बसेर दाउरा उपलब्ध गराउने, न्यानो कपडा वितरण गर्नेलगायत आवश्यक निर्णय गरी कार्यान्वयन गरिनेछ।
लगातारको चिसोले जनजीवन प्रभावित भइरहेकाले सरकारी निकाय र स्थानीय तहले चिसोबाट नागरिकलाई सुरक्षित राख्न सक्रियता बढाएका छन्।
















