बारा–भूमि समस्या समाधान आयोगको पहलमा निजगढ नगरपालिका वडा नम्बर ६ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको जग्गा नापजाँच कार्य औपचारिक रूपमा सुरु गरिएको छ।
आयोगबाट खटिएको प्राविधिक टोलीले निजगढ नगरपालिकासँगको समन्वयमा नापजाँच कार्य अघि बढाएको हो। नापजाँच कार्यको शुभारम्भ निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले दुरबिनमार्फत नापजाँच क्षेत्रको अवलोकन गर्दै गर्नुभएको थियो भने उपप्रमुख सोममाया थिङले पूजापाठ गरी औपचारिक उद्घाटन गर्नुभएको थियो।


कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, अन्य जनप्रतिनिधिहरू, पूर्व वडा अध्यक्ष कुशबहादुर थापा, नगरपालिकाका कर्मचारी तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो।
भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यसहित सुरु गरिएको यस नापजाँच कार्यबाट वास्तविक लाभग्राहीको पहिचान, आवश्यक तथ्यांक संकलन तथा आगामी चरणमा जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले नापजाँच कार्य समयमै सम्पन्न भई जग्गा स्वामित्वसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।
















