निजगढ नगरपालिकाले नगर कार्यपालिकाका सदस्यले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सो विषयमा छानबिन गर्न नगर कार्यपालिकाले औपचारिक रूपमा समिति गठन गरेको छ।
नगरपालिकाका अनुसार २०८२ साल पौष ३० गते बसेको नगर कार्यपालिकाको बैठकले उक्त विषयको सत्यतथ्य पत्ता लगाउन चार जना नगर कार्यपालिका सदस्य र एक जना कर्मचारी सदस्य–सचिव रहने गरी छानबिन समिति गठन गरेको हो।



केहिदिन अघि नगरकार्यपालिका सदस्य शर्मिला बि.क.ले आफ्नो सामाजिक संजाल फेसवुकमा पालिकाका कर्मचारीले निर्माण व्यवसायी संग भुक्तानी लिनु अगाडि रकम (घुस) मागेको भन्दै अडियो आफुसंग रहेकाले सार्वजनिक गरिदिने भनेर राखेपछि नगरले तत्काल कार्यपालिका वैठक राखेको थियो र समिति गठन गरेको थियो ।
समितिलाई घटनासँग सम्बन्धित सम्पूर्ण पक्षको गहिरो अध्ययन तथा छानबिन गरी सत्यतथ्य पत्ता लगाई सुझावसहितको प्रतिवेदन १५ दिनभित्र नगरपालिकामा पेश गर्न कार्यादेश दिइएको छ।
त्यस्तै कार्यपालिका सदस्य शर्मिला बि.क.ले हामी संग टेलिफोन बार्तामा नगरपालिकाले आफ्नो कुरा तत्काल ध्यानमा राखेर छानबिन समिति गठन गरेकोमा धन्यवाद समेत दिनुभएको छ । बि.क. ले यदि समितिको प्रतिवेदन आफुलाई चित्त नबुझेमा सो अडियो जनतामा सार्वजनिक गर्ने समेत बताउनुभएको छ ।
















