काठमाडौं । फलाम तथा स्टिल उद्योगले उत्पादनमा धमाधम मूल्य बढाउन थालेका छन् ।
स्टिल उद्योगले छडमा प्रतिकिलो ६ रुपैयाँसम्म मूल्य बढाएका छन् । जस्तापातालगायत सामग्रीमा प्रतिगोटा ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक मार्फत सरकारले बिलेट र स्पन्ज आइरनको राजस्व दर हेरफेर गरेको थियो । नयाँ व्यवस्थाअनुसार बिलेटमा भन्सारदर यथावत् राखेर अन्तःशुल्क प्रतिमेट्रिक टन १ हजार ६ सय ५० बाट २ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । तर कच्चा पदार्थमा भने भन्सार र अन्तःशुल्कमा पूर्ण छुट दिने व्यवस्था गरिएको छ ।
अन्तःशुल्क हेरफेर भएको विषयमा स्टिल उद्योगीहरू पक्ष र विपक्षमा विभाजित भएका छन् । भारतबाट बिलेट आयात गरेर डन्डी बनाउने उद्योगले यसको विरोध गरिरहेका छन् भने कच्चा पदार्थ ल्याएर नेपालभित्रै बिलेट उत्पादन गर्ने उद्योगले समर्थन गरेका छन् । स्पन्जबाट बिलेट बनाउने उद्योग आधा दर्जन मात्र र बिलेट आयात गर्ने उद्योग दुई दर्जन छन् । यसरी बिलेटमा एकैपटक प्रतिमेट्रिक टन आठ सय ५० रुपैयाँ अन्तःशुल्क बढाएर दुई दर्जन उद्योगलाई डुबाउन खोजिएको भन्दै विरोध भइरहेको हो । यसले लगानी डुब्ने र मजदुरको रोजगारी गुम्ने भन्दै उद्योगी विरोधमा छन् ।
सिधै कच्चा पदार्थ नेपाल ल्याएर बिलेट बनाउँदा डन्डीको मूल्य घट्ने दाबी थियो । सरकारको यो नीति कार्यान्वयनमा आउँदा पहिलो लाभग्राही उपभोक्ता हुने ठानिएकामा ठीक उल्टो फलाम तथा स्टिलजन्य वस्तुमा चर्को मूल्यवृद्धि भएको छ । बजेटले गरेको नयाँ व्यवस्थाले मुख्यतः रोलिङ मिल्स एसोसिएसन र नेपाल स्टिल बिलेट उत्पादक संघ आमनेसामने छन् । रोलिङ मिल्स एसोसिएसनका उपाध्यक्ष किरण साःखले केही उद्योगीले स्टिल तथा फलामका वस्तुको बजार कब्जा गरेको र एकाधिकार कायम गरेर मूल्य बढाएको आरोप लगाए ।
‘बिलेटमा अन्तःशुल्क बढेपछि हाम्रा अधिकांश उद्योग बन्द छन्, यसैको लाभ उठाएर केही उद्योगीले मूल्य बढाएका छन्,’ उनले भने । पछिल्लो २० दिनदेखि २४ वटा स्टिल उद्योगले उत्पादन बन्द गरेको उनको भनाइ छ । ‘बिलेट आयात गर्ने कुनै उद्योग अहिले सञ्चालनमा छैनन्, ३० वटामध्ये २४ वटा उद्योगले पछिल्लो २० दिनदेखि उत्पादन नगर्दा त्यसको असर बजारमा देखिने नै भयो,’ उनले भने ।
बिलेट उत्पादकहरूले मागअनुसार उत्पादन गर्न नसकेको, एकाधिकार कायम गरेको र आर्थिक ऐनमा भएको व्यवस्थाले फलाम र स्टिलको मूल्यवृद्धि सिर्जना गरेको रोलिङ मिल्स एसोसिएसनले बताइरहेको छ । त्यस्तै, नेपालका बिलेट उत्पादकले प्रयोग गरेको इन्डक्सन मेल्टिङ प्रविधिले फाइभ हन्ड्रेड डी ९५०० डी० गुणस्तरका डन्डीका लागि बिलेट उत्पादन गर्न नसक्ने र यस्तो प्रविधि वातावरण प्रतिकूल रहेकाले चीन, भियतनाम, फिलिपिन्सलगायत मुलुकमा प्रतिबन्ध लगाएको एसोसिएसनको भनाइ छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारले अन्तःशुल्क बढाउने निर्णय गरेको भोलिपल्टै स्टिल उत्पादक कम्पनीले मूल्य बढाएको आरोप लगाए । ‘सरकारले अन्तःशुल्क बढाएको भोलिपल्टैबाट छड, फलामे पाइप, जस्तापातालगायत वस्तुमा मूल्य बढेर आयो । प्रतिकिलो ६ रुपैयाँसम्म मूल्य बढेको छ,’ कटुवालले भने, ‘जबकि उनीहरूले नयाँ अन्तःशुल्क दरअनुसारको कच्चा पदार्थ आयात गर्न र त्यसबाट वस्तु उत्पादन गरेर बजार पठाउन कम्तीमा एक महिना समय लाग्छ ।’
तर, नेपाल स्टिल बिलेट उत्पादक संघले भने बुधबार अर्थ मन्त्रालयलाई पत्र पठाउँदै मूल्य नबढेको जिकिर गरेको छ । ‘बिलेट आयात गरी डन्डी उत्पादन गर्ने केही उद्योगले सरकारको राजस्व नीतिका कारण मूल्यवृद्धि भएको भन्नु सरासर झूटो हो,’ संघले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ । पहिले डन्डीमा लाग्दै आएको अन्तःशुल्क प्रतिकिलो १ रुपैयाँ ६५ पैसाबाट शून्यमा झारिएको छ भने फलाम बिलेटमा पहिलेको तुलनामा प्रतिकिलो ८५ पैसा बढाएर २ रुपैयाँ ५० पैसा पुर्याइएको छ । जसका कारण मूल्य बढ्ने नभई घट्ने संघको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा पनि त्यसको असर नेपाली बजारमा देखिएको उद्योगीहरूको भनाइ छ । संघका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले स्टिल बिलेट र स्पन्ज आइरनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहने बताए । ‘बजेट वक्तव्यको दिन प्रतिमेट्रिक टन ५ सय ६५ अमेरिकी डलर रहेकामा अहिले ५ सय ८५ पुगेको छ,’ न्यौपानेले भने, ‘नेपाली मुद्रा पहिलेको भन्दा कमजोर भएर डलरको मूल्य बढेको छ । यी दुई कारणले प्रतिकिलो ३ रुपैयाँ ७० पैसा स्वतः बढ्न जान्छ ।’