निजगढ नगरपालिका वडा नम्बर ४ स्थित चारघरे टोलमा मानव कल्याण समाजले पुनस्र्थापना केन्द्र (सेवाघर) संचालन गर्ने भएको छ ।
समाजले हिजो निजगढ पार्टी प्यालेसमा स्थानीय समाजसेवीहरुबीच आयोजना गरेको छलफल कार्यक्रममा निजगढलाई सडकमानव मुक्त नगर बनाउने उद्देश्यले पुर्नस्थापना केन्द्र (सेवा घर) संचालन गर्न लागिएको जानकारी दिइएको हो । संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईका अनुसार निजगढको पुरानोटोल स्थित चारघरे टोलमा रहेको महादेव मन्दिरको सार्वजनिक जमिनमा संस्थाको भवन निर्माणको लागि जग्गा प्राप्तिको प्रकृया पुरा भइसकेको र तत्कालबाट सडक मानवको उद्धार कार्य पनि सुरु गरिने जानकारी दिनुभयो । उहाँले संस्थाको आफ्नै भवन निर्माण गर्न केही समय लाग्ने भएको भएपनि हाललाई घर भाडामा लिएर भएपनि उद्धार र पुर्नस्थापनाको काम सुरु गर्ने बताउनुभयो ।
भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाले बारामा पनि जिल्ला शाखा स्थापना गरेर काम सडकमानवको उद्धार र पुनस्र्थापना गर्न लागेको बताइएको छ । सो संस्थाले विभिन्न कारणले सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टप्रद जीवन बिताउदै आएका असक्त, अनाथ, अपाङ्ग, मनोरोगी र बेवारिसे मानिसहरुको उद्धार गरेर उनीहरुको खाना, बास स्थान, शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रबन्ध गर्दै आएको छ । सेवा घरमा राखिएकाहरुको अवस्थामा सुधार आएपछि उनीहरुलाई घर परिवारको जिम्मा लगाइने पनि अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।
निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गलगायतको सहभागिता रहेको छलफल कार्यक्रममा संस्थका सचिव विजय पौडेलले संस्थाले गरेको कामको बारेमा तयार पारिएको श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गर्नुभएको थियो ।
स्थानीय स्रोत साधनको प्रयोग गरेर संचालन गर्न लागिएको सो सेवा घरको लागि कार्यक्रममा केही दाताहरुले आर्थिक र खाद्यान्न सहयोगको घोषणा गरेका थिए ।