काठमाडौं । पछिल्लो केही वर्ष यता नेपाली उद्योगहरूको प्रविधि, क्षमता, र गुणस्तरमा उल्लेखनीय विकास भएको छ । नेपाली सिमेन्ट उद्योगहरूमा पनि धेरै विश्वासिलो र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन गर्न सक्ने प्रविधि भित्रिएको छ । जसका कारण केही सिमेन्ट उद्योगले गुणस्तरीय उत्पादनहरू बजारमा ल्याएका छन् ।
आधुनिक प्रविधिको आगमनसँगै नेपाली सिमेन्ट उद्योगहरूले ४३ र ५३ ग्रेडका उत्पादनहरू बजारमा ल्याउन सुरु पनि गरिसकेका छन् । गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर मापदण्डमा संशोधन गर्दै ४३ र ५३ ग्रेडमा सिमेन्टको गुणस्तर कायम गर्ने व्यवस्था ल्याएसँगै ग्रेडको आधारमा सिमेन्ट उत्पादन सुरु भएको हो।
विभागका अनुसार हालसम्म ६ वटा सिमेन्ट उद्योगले गुणस्तर तथा नापतौल विभागबाट सरकारले तोकेको ग्रेडमा सिमेन्ट उत्पादन गर्न अनुमति लिइसकेका छन् । अन्य ३८ उद्योग पनि ४३ र ५३ ग्रेडको उत्पादनको अनुमति लिनेक्रममा रहेको गुणस्तर तथा नापतौल विभागका निर्देशक सञ्जीव कुमार ठाकुरले जानकारी दिए। उनले भने, ‘पछिल्लो समय सिमेन्ट क्षेत्रले गुणस्तरमा ठुलो फड्को मारेका छन् । हालसम्म ६ वटा सिमेन्ट उद्योगले ग्रेडिङ पाइसकेका छन् । अन्य ३८ वटा उद्योगहरू ग्रेडिङको अनुमति लिनेक्रममा रहेका छन् ।’
निर्देशक ठाकुरका अनुसार ग्रेडिङका लागि अनुमति पाउने उद्योगहरूमा मारुती सिमेन्ट, शिवम् सिमेन्ट, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट, युनाइटेड सिमेन्ट र रिद्धिसिद्धी सिमेन्ट रहेका छन् । यसरी ग्रेडका आधारमा उत्पादन गरिएका सिमेन्टहरू उपभोक्ताले ढुक्कसँग प्रयोग गर्न सक्छन्।
जसमा मारुती सिमेन्ट, शिवम् सिमेन्ट र सर्वोत्तम सिमेन्टले ४३ र ५३ ग्रेडका लागि उत्पादन अनुमति पाएका छन् । त्यस्तै, अग्नि सिमेन्ट र रिद्धिसिद्धी सिमेन्टले ४३ ग्रेडका लागि उत्पादन अनुमति पाएका छन् भने युनाइटेड सिमेन्टले ५३ ग्रेडका लागि उत्पादन अनुमति पाएको विभागले जनाएको छ ।
के हो ग्रेड ?
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु तिमल्सिनाका अनुसार सिमेन्ट निर्धारण गर्दा दुई वटा मापदण्डलाई हेर्नुपर्ने हुन्छ। एउटा रासायनिक गुणस्तर हो। सिमेन्ट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ अनुसार उत्पादित सिमेन्टको गुणस्तर कायम हुन्छ। त्यसो त पहिले कच्चा पदार्थ नै उत्पादन योग्य गुणस्तरको छ वा छैन भन्ने हेरिन्छ। त्यसमा सिमेन्टको कच्चापदार्थमा हुनुपर्ने भनी तोकिएको भन्दा पदार्थहरूको प्रयोग नहोस् भन्ने कुरामा ध्यान दिइन्छ। यसको जाँच गर्दा यदि कुरालाई इन्डिकेट गरिएको हुन्छ ।
उनले बताए अनुसार अर्को भनेको उपभोक्ताको दृष्टिकोणबाट भौतिक रूपमा नै हेर्ने हो । यसमा सिमेन्टको मजबुदी र कडापन नै हो मुख्य कुरा हो। जसलाई ‘कन्प्रेन्स स्ट्रेन्थ’ भन्ने गरिन्छ । उनी भन्छन्, “हामी जुन ४५ र ५३ ग्रेड भन्छौ ।यो भनेको २८ दिनमा त्यसले प्राप्त गर्ने कम्प्रेस्टिक स्ट्रेन्थ हो । ४३ मेगा पास्कल बराबरको दबाब थेग्न सक्ने गरी न्यूनतम २८ दिनमा त्यो सिमेन्टले निर्माणलाई तयार गर्छ भने त्यसलाई ४३ ग्रेडको सिमेन्ट भनिन्छ। त्यसै गरी २८ दिनमा ५३ मेगा पास्कल बराबरको फोर्स धान्न सक्यो भने त्यसलाई हामी ५३ ग्रेडको सिमेन्ट भन्छौ । जुन चाहिँ विगतको ३३ ग्रेडको तुलनामा झन्डै १.७, १.८ गुणाले बढी हो।
सामान्य भाषामा भन्ने हो भने सिमेन्टको ग्रेड भनेको उक्त सिमेन्टको भार वहन क्षमता हो। कति अवधिमा कति भार बहन गर्न सक्छ भन्ने मापन नै ग्रेड हो। यसैले सिमेन्टको ‘कम्प्रेसिभ स्ट्रेन्थ’ नै ग्रेड हो। यसरी भार बहन गर्न सक्ने बल र त्यो प्राप्त गर्न लाग्ने समयको आधारमा ग्रेड मापन गरिने अभ्यास रहेको छ। ५३ ग्रेड भनेको ५३ एमएम भार प्रति वर्ग सेन्टिमिटर बहन गर्न सक्ने भन्ने बुझिन्छ।
पछिल्लो पाँच सात वर्षको सिमेन्ट क्षेत्रको विकासक्रमलाई हेर्दा उद्योगहरूको प्रविधि, क्षमता, र गुणस्तरमा एकदमै विकास भएको छ । विगतको अनुभवको आधार हेर्ने हो भने नेपाली सिमेन्ट उद्योगहरूमा धेरै विश्वासिला र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन गर्न सक्ने प्रविधि भित्रिएको छ। ती उद्योगले गुणस्तरीय उत्पादनहरू बजारमा ल्याएका छन् । फलस्वरूप नेपाली उद्योगहरूले ४३, ५३ ग्रेडका उत्पादनहरू बजारमा ल्याउन सुरु पनि गरिसकेका छन्।