इजरायलको हवाई आक्रमणमा परी इरानको इन्टेलिजेन्स चिफको मृत्यु भएको छ । इरानको सरकारी मिडियाका अनुसार आइतबार इजरायले इरानमाथि गरेको हवाई आक्रमणमा परी इरानी इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोर (आईआरजीसी)का इन्टेलिजेन्स युनिटका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको हो ।
न्युज एजेन्सी र इरानको सरकारी टेलिभिजनका अनुसार काजेमीबाहेक उनका डिप्टी हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएको खबर छ ।








यसअघि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘तपाईंलाई म यो भन्न सक्छु कि हामीले इरानका इन्टेलिजेन्स प्रमुख र उनका डिप्टीलाई मारेका छौं ।’
इरानको स्वास्थ्यमन्त्रालयका अनुसार शुक्रबादेखि इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या २२४ पुगेको छ । यता इरानले पनि इजरायलमाथि मिसाइल प्रहार गरेको छ ।
इजरायल र इरानबिच तीन दिनदेखि भइरहेको युद्धमा दुवै पक्षमा घाइते र मर्नेको संख्यामा वृद्धि भइरहेको छ । दुवै देशबिचको लामो दुस्मनी चर्किँदै गएपछि यतिबेला युद्ध रोकिने कुनै संकेत देखिएको छैन । युद्ध सुरु भएको तेस्रो दिन आइतबार पनि दुवै देशबिच भीषण आक्रमण भएको छ ।