काठमाडौं । कोरोना भाइरस महामारी सुरु भएसँगै विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्नुका साथै भिडियो कलिङ एपका प्रयोगकर्ता पनि ह्वात्तै बढे ।
लकडाउनका कारण भौतिक उपस्थितिमा सञ्चालन हुन नसकेका धेरै कार्यालयहरुमा छलफल तथा बैठकहरु समेत अनलाइनमा भिडियो कलिङका माध्यमबाट हुने गरेका छन् । भिडियो कन्फ्रेन्सिङका लागि सुरुमा जुमले अत्यधिक लोकप्रियता पायो र पछि माइक्रोसफ्ट टिम्स, गुगल मीट जस्ता एपहरु पनि विभिन्न फिचरहरुका साथ लञ्च भए ।
भिडियो कलिङको उच्च मागलाई ध्यानमा राख्दै फेसबुक लगायतका सोसल मिडिया कम्पनीहरुले पनि आफ्ना मेसेजिङ तथा कलिङ एपहरुमा एकपछि अर्को गर्दै नयाँ–नयाँ फिचरहरु थप गर्दै लगेका छन् । फेसबुक कम्पनीले पनि आफ्नो ह्वाट्सएप तथा मेसेन्जर एपमा भिडियो कलिङका लागि विभिन्न नयाँ फिचरहरु थप गरिरहेको छ ।
हालसम्म फेसबुकले ह्वाट्सएप र फेसबुक मेसेन्जरमा भ्वाइस तथा भिडियो कलिङ फिचर उपलब्ध गराउँदै आएको छ । तर अब कम्पनीले फेसबुकको मुख्य एपबाटै भिडियो तथा भ्वाइस कल गर्न सकिने सुविधा दिने भएको छ । अर्थात् अब भिडियो कल तथा भ्वाइस कल गर्नका लागि तपाईंले मेसेन्जर डाउनलोड गरिरहनु पर्नेछैन, फेसबुकको मुख्य एपबाटै गर्न सक्नुहुनेछ । यसबाट प्रयोगकर्ताले केबल कल गर्नका लागि मात्रै मेसेन्जर एप डाउनलोड गर्नुपर्ने छैन । समाचार अनुसार फेसबुकको मुख्य एपमै भ्वाइस तथा भिडियो कलिङ फिचरको हाल परीक्षण भैरहेको छ ।
स्मरण रहोस् फेसबुकले केही वर्षअघि मात्रै आफ्नो मुख्य एपबाट मेसेन्जरलाई छुट्टाएको थियो र मेसेन्जर एपलाई नितान्त मेसेजिङ तथा कलिङ एप बनाएको थियोे । तर अब कम्पनीले पुनः फेसबुकको मुख्य एपमै हटाइएको उक्त कलिङ सुविधाको पुनरागमन गराउँदैछ । यद्यपि भविष्यमा फेसबुकको मुख्य एपमा कलिङ सुविधा मात्र ल्याउने वा मेसेजिङ फिचर पनि थप गर्ने भन्ने विषयमा फेसबुकले केही खुलाएको छैन ।
फेसबुकका प्रवक्ताले चाहिं फेसबुकको मुख्य एपमा भिडियो तथा अडियो कलिङको सुविधा थप हुन लागेको भए तापनि धेरै खाले फिचर्सका लागि प्रयोगकर्ताले मेसेन्जर एप नै प्रयोग गर्नुपर्ने बताएका छन् । फेसबुकको मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचरको पुनरागमन हुने पक्कापक्की भए पनि एकिन मिति चाहिं खुलासा भएको छैन ।
फेसबुकले गत हप्तामात्रै नयाँ भर्चुअल रियालिटी रिमोट वर्क एप सार्वजनिक गरेको थियो । जसमा प्रयोगकर्ताले कुनैपनि मिटिङमा आफ्नो साटो कुनै भर्चुअल अवतारको प्रयोग गर्न सक्दछन् ।