नेपालमा प्रयोग भइरहेका धेरैजसो सेट–टप बक्समा अब युट्युब नचल्ने सम्भावना बढ्दै गएको छ। गुगलले आफ्ना ओईएम (सक्कली उपकरण निर्माता) साझेदारहरूलाई पहिल्यै जानकारी गराएको निर्देशिकालाई कडाइका साथ लागू गर्न थालेपछि यस्तो जोखिम देखा परेको हो।
नेपालका अधिकांश आईपीटिभी सेवा प्रदायकले प्रयोग गरिरहेका सेट–टप बक्सहरू अनसर्टिफाइड एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) मा आधारित छन्। यस्ता उपकरणले गुणस्तरीय, सुरक्षित र स्थिर प्रयोग अनुभव दिन नसक्ने भन्दै गुगलले युट्युब सेवामा रोक लगाउने नीति अघि सारेको जनाएको छ।


गुगलका अनुसार अनसर्टिफाइड एओएसपी डिभाइसहरूले आवश्यक प्राविधिक मापदण्ड पूरा नगर्ने, प्रयोगकर्ताको अनुभव कमजोर बनाउने तथा सुरक्षा जोखिमसमेत सिर्जना गर्ने सम्भावना हुन्छ। यही कारण देखाउँदै कम्पनीले यस्ता उपकरणमा युट्युब प्रयोग सीमित गर्नुपरेको स्पष्ट पारेको छ।
गुगलका मुख्य एप तथा सेवाहरू—जस्तै जिमेल, म्याप्स, प्ले स्टोर र युट्युब—गुगल मोबाइल सर्भिसेस (जीएमएस) अन्तर्गत पर्दछन्। यी सेवाहरू प्रयोग गर्न उपकरण निर्माताले जीएमएस लाइसेन्स लिनु आवश्यक हुन्छ, जसका लागि कम्प्याटिबिलिटी टेस्ट सुइट (सीटीएस) पास गर्नु र कम्प्याटिबिलिटी डेफिनिसन डकुमेन्ट (सीडीडी) मा उल्लेखित मापदण्ड पूरा गर्नु अनिवार्य छ।
सेट–टप बक्स, स्मार्ट टिभी तथा गेम कन्सोललाई गुगलले ‘लिभिङ रुम डिभाइस’ को श्रेणीमा राखेको छ। यस्ता उपकरणमा युट्युब चलाउन एचटीएमएल–५ मा आधारित युट्युब लिभिङ रुम एप आवश्यक पर्छ, जसका लागि पूर्ण प्रमाणीकरण प्रक्रिया पूरा भएको हुनुपर्छ।
नेपालका इन्टरनेट सेवा प्रदायक तथा टेलिभिजन वितरकहरूले बजारमा उपलब्ध गराइरहेका धेरैजसो सेट–टप बक्स र स्मार्ट टिभी अनसर्टिफाइड एओएसपीमा आधारित रहेको देखिन्छ। युट्युबको यो नीति अहिले चरणबद्ध रूपमा लागू भइरहेको छ।
हाल केही प्रयोगकर्ताले अनसर्टिफाइड सेट–टप बक्समा युट्युब चलाइरहे पनि यो नीति विश्वव्यापी रूपमा पूर्ण रूपमा कार्यान्वयन भएपछि त्यस्ता सबै उपकरणमा युट्युब सेवा स्वतः बन्द हुने अनुमान गरिएको छ।
यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामाथि पर्ने देखिएको छ। धेरै घर–परिवारले अब युट्युब हेर्न गुगल–सर्टिफाइड एन्ड्रोइड टिभी ओएस भएका सेट–टप बक्स वा सर्टिफाइड स्मार्ट टिभीमा अपग्रेड गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ।
















