१३ भदौ, पोखरा / गण्डकी प्रदेशको पोखरामा १३ सय किलो एसिड सहित तीन जनालाई प्रहरीले आज आइतबार पक्राउ गरेको छ।
बाराको जितपुर सिमरा उप–महानगरपालिका- १५ घर भई हाल चितवन भरतपुर बस्ने १९ वर्षीय मीनबहादुर भारती, विराटनगर महानगरपालिका -२ घर भई सोहि ठाउँमा बस्ने २९ वर्षीय केशव सिंह र बाग्लुङ नगरपालिका ७ ढिकीचौर घर भई हाल पोखरा बस्ने अभिषेक औजार पसलका सञ्चालक ६३ वर्षीय बलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।
पोखरा महानगरपालिका- ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी गराएका छन्। मीनबहादुर भारती उक्त जीपका चालक हुन्।
पोखरामा भेटिएको तेजावमा शीलबन्दी र लेबलिङ नभएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हमालले बताएका छन् । उनले एसिड कुन प्रायोजनका लागि ल्याएका हुन् ,भन्नेबारेमा थप अनुसन्धान भइरहेको डीएसपी हमालले जानकारी गराएका छन्।