प्रदेश लोक सेवा आयोग गण्डकीले स्थानीय तहका लागि ठूलो संख्यामा कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ। आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ अनुसार चौथो तहका प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गर्दै बुधबार विज्ञापन प्रकाशित गरेको हो।
आयोगका अनुसार स्थानीय तहबाट माग भई आएका रिक्त पदहरू पूर्ति गर्न आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी समूहअन्तर्गत परीक्षा प्रक्रिया सञ्चालन गरिनेछ। प्रकाशित सूचनामा समावेशी सिद्धान्तअनुसार विभिन्न समूहका लागि पद संख्या तोकिएको उल्लेख छ।


विज्ञापनअनुसार प्राविधिकतर्फ असिस्टेन्ट सब–इन्जिनियर (सिभिल), खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन, नायब प्राविधिक सहायक (कृषि), नायब पशु सेवा तथा पशु स्वास्थ्य प्राविधिक, अहेव, अनमी लगायतका पदमा कर्मचारी माग गरिएको छ। यी पदहरू खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अपाङ्ग तथा खस आर्य समूहअनुसार विभाजन गरी पदपूर्ति गरिने आयोगले जनाएको छ।
त्यस्तै, अप्राविधिकतर्फ प्रशासन सहायक, लेखा सहायक र सहायक विविध निरीक्षक पदका लागि पनि दरखास्त आह्वान गरिएको छ। यी पदहरूमा पनि समावेशी आधारमा उम्मेदवार छनोट गरिने आयोगले स्पष्ट पारेको छ।
आयोगले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ। विस्तृत विवरण, पद संख्या, योग्यता तथा आवेदन प्रक्रियासम्बन्धी जानकारी आयोगको आधिकारिक सूचनामार्फत प्राप्त गर्न सकिने जनाएको छ।
















